२०८३ जेठ ७ बिहीबार
Jhapa Today
Adv top

हल्दिबारीमा दर्ताबिना सञ्चालित आलमको औषधि पसलमा गाउँपालिकाको ताला


बिर्तामोड, जेठ ७ । झापाको हल्दिबारीमा रहेको एक औषधि पसलमा गाउँपालिकाले ताला लगाइदिएको छ । इजाजत नलिई सञ्चालन हुँदै आएको सो पसलमा म्याद सकिएका औषधि बिक्रीका लागि राखिएको पाइएको थियो ।

गाउँपालिकाले हिजो गरेको अनुगमनका क्रममा हल्दिबारी-५ अधिकारी चोकमा रहेको मोहमद नसिम आलमले सञ्चालन गरेको औषधि पसलमा सञ्चालन तथा उपचार गर्ने कुनै पनि आधिकारिक शैक्षिक र कानुनी प्रमाणपत्र नभेटिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बनले बताए ।

नाम नै नभएको सो औषधि पसलमा नेपालमा प्रतिबन्धित भारतीय औषधि बेच्न राखिएको थियो । सञ्चालककले औषधि व्यवस्था विभागमा समेत दर्ता नगरेको अनुगमनमा भेटिएको थियो ।

आलम दाजुभाइले लामो समयदेखि औषधि पसलको अवरणमा अवैध गतिविधि गर्दै आएको बताइएको छ । भारतबाट आएका आलम चार दशकयता सो क्षेत्रमा रहँदै आएका छन् । उनले नेपाली नागरिकता पनि लिएको खुलेको छ ।

आलम दाजुभाइले अधिकारी चोक र हल्दिबारी ३ ढडुवा बजारमा समेत औषधि पसल सञ्चालन गर्दै आएका छन् । मानव स्वास्थ्यमा चरम लापरबाही गरेको भन्दै टोलीले अधिकारी चोकको पसल बन्द गरिदिएको हो । आलमलाई जेठ ११ गतेभित्र आवश्यक कागजपत्रसहित गाउँपालिकामा हाजिर हुन निर्देशन दिइएको छ ।

गाउँपालिकाले वडा नम्बर ४ र ५ मा पर्ने अधिकारीचोक बजारमा आकस्मिक रूपमा गरेको अनुगमनमा १७ वटा पसललाई कागजात पूर्ण गर्न लगाइएको छ । अनुगमन टोली आउने थाहा पाएपछि दुईवटा पसल सञ्चालक पसल बन्द गरेर भागेका थिए ।

Adv footer