
बिर्तामोड, जेठ ७ । झापाको कनकाई नदीले छुट्याएको शिवसताक्षी नगरपालिकाको दुई बस्तीलाई झोलुङ्गे पुलले जोडेको छ । वडा नम्बर–६ स्थित कनकाई नदीमाथि झोलुङ्गे पुल सञ्चालनमा आएको छ ।

चन्द्रडाँगी बजारलाई लालपानी क्षेत्रसँग प्रत्यक्ष जोड्ने उक्त पुल सञ्चालनमा आएपछि स्थानीय बासिन्दाको आवतजावत समस्या अन्त्य भएको छ भने विकास र सहज यातायातको नयाँ ढोका खुलेको छ ।

संघीय सरकारअन्तर्गत झोलुङ्गे पुल महाशाखा, कुपन्डोलको आर्थिक सहयोगमा निर्माण गरिएको पुल करिब ७ करोड ४१ लाख रुपैयाँको लागतमा सम्पन्न भएको हो ।

निर्माण कम्पनी पशुपति हरि कन्स्ट्रक्सन प्रालिका अनुसार पुलको लम्बाइ ६४० मिटर रहेको छ, जुन यस क्षेत्रकै महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ ।

पुल सञ्चालनमा आएपछि चन्द्रडाँगी, लालपानी, ट्याक्रा तथा माईपारिका बासिन्दालाई दैनिक आवतजावतमा ठुलो सहजता भएको स्थानीयबासीले बताएका छन् । यसअघि कनकाई नदीले नगरका केही वडालाई भौगोलिक रूपमा छुट्याएका कारण स्थानीयले आफ्नै वडा पुग्नसमेत लामो दूरी पार गर्नुपर्ने बाध्यता थियो ।

विशेष गरी वडा नम्बर ७ र वडा नम्बर १० का बासिन्दाले पूर्व–पश्चिम राजमार्गस्थित कनकाई पुल प्रयोग गर्दै करिब सात किलोमिटर उत्तरतर्फ घुमेर यात्रा गर्नुपर्ने अवस्था रहेको थियो ।
वर्षायाममा नदी बढ्दा आवतजावतमा हुने जोखिमसमेत अब कम भएको स्थानीयको भनाइ छ । हाल पुलबाट दुईपांग्रे सवारी साधनलाई समेत आवतजावतमा सहज भएको छ ।
कनकाई नदीमाथिको यो पुलले स्थानीय आर्थिक गतिविधि, व्यापार तथा सामाजिक सम्बन्ध विस्तारमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । बजार क्षेत्र, नगरपालिका कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक केन्द्रसम्मको पहुँच सहज बनेसँगै माईपारिका बासिन्दाको जीवनशैलीमा समेत परिवर्तन आउने विश्वास गरिएको छ ।






