२०८१ जेठ ७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

प्रेस क्लब मेचीनगरको वक्तृत्वकलामा रमेश नेपाल प्रथम


मेचीनगर, जेठ १५ । प्रेस क्लब मेचीनगरको आयोजनामा आयोजित अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा रमेश नेपाल प्रथम भएका छन् ।

बाल सुबोधिनी माध्यमिक विद्यालयका उनले ३१ अंक प्राप्त गरे । त्यस्तै, कविशिरोमणि माध्यमिक विद्यालयकी उषा निरौला ३० दशमलव ३२ अंकसहित दोस्रो भइन् ।

एभरेस्ट माध्यमिक विद्यालयकी सन्ध्या कट्टेल २९ दशमलव ८४ अंकसहित तेस्रो भइन् । उनीहरुले क्रमशः नगद ३ हजार, २ हजार र १ हजारसहित प्रमाणपत्र प्राप्त गरे ।

क्लबले १५ औँ गणतन्त्र दिवसका अवसर पारेर गणतन्त्र स्थापनामा प्रेसको भूमिका विषयक अन्तर मावि वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो ।

कार्यक्रममा मेचीनगरका आठवटा विद्यालय सहभागी थिए । प्रतियोगिताको मुख्य निर्णायकको भूमिकामा साहित्यकार तथा शिक्षक मिलनकुमार ढुंगाना तथा सदस्यहरुमा साहित्यकार भुवन सुब्बा खरेल र सञ्चारकर्मी हरिकृष्ण भण्डारी रहेका थिए ।

प्रेस क्लबका अध्यक्ष डम्बर बरालको अध्यक्षतामा मेचीनगरको आदर्श माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि मेचीनगर नगर शिक्षा अधिकारी होमनाथ भण्डारीले गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य मोहन काजी न्यौपाने, क्लबका संस्थापक अध्यक्ष सन्तोष आचार्य, पूर्वअध्यक्ष मुक्ति पौडेल, सहभागी विद्यालयका तर्फबाट बाल सुबोधिनी माविका प्रधानाध्यापक विश्व थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रेस क्लबका सचिव देबु बानियाँले उद्घाटनसत्रको सञ्चालन र उपाध्यक्ष जिआर धितालले स्वागतसहित प्रतियोगिताको सञ्चालन गरेका थिए ।

प्रेस क्लब मेचीनगरले गणतन्त्र दिवसको महत्व बुझाउन विद्यार्थी तहमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा प्रतिस्पर्धी विद्यार्थीहरुले गणतन्त्रको महत्वलाई विभिन्न पाटोबाट उजागरको प्रयास गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer