२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

झापाका सहकारीका समस्याबारे सञ्चारकर्मीसँग छलफल


बिर्तामोड, जेठ १७ । आर्थिक मन्दीका कारण सहकारीहरुले समस्या भोगिरहेको बेला झापाका सहकारी संघहरुले यस विषयमा सञ्चारकर्मीहरुसँग छलफल गरेका छन् ।

आज झापाको बिर्तामोडमा सहकारीको विद्यमान अवस्था, समस्या र चुनौतीका विषयमा सहकारीका विभिन्न संघले गहन छलफल गरेका हुन् ।

छलफलमा झापा जिल्ला सहकारी संघ लिमिटेड, जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड र जिल्ला कृषि सहकारी संघ लिमिटेड झापाले सहकारीहरुको वर्तमान अवस्थाको बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)का सञ्चालक सदस्य घनश्याम अधिकारीले बाहिर हल्ला चलेजस्तो झापाका सहकारीहरुमा ठुलो संकट नआएको बताए । सहकारीहरु विधिसम्मत ढंगबाट सञ्चालन गर्नुपर्ने अधिकारीले सुझावसमेत दिए ।

झापा जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष गणेश ढकालले विभिन्न कारणले जिल्लाका केही सहकारीहरुमा समस्या आएको भए पनि समाधानका लागि संघ लागिरहेको बताए ।

राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य र सहकारी समस्या समाधान सहजीकरण संयन्त्र झापाका संयोजकसमेत रहेका ढकालले सहकारीहरुको एकीकरणलाई प्राथमिकता दिएर प्रारम्भिक संस्थाहरुलाई मजबुत बनाउनेतर्फ अभियान केन्द्रित रहेको जानकारी दिए ।

सहकारीको वित्तीय जोखिम न्यूनीकरण र सदस्यको बचत सुरक्षाको सुनिश्चितता गर्दै सहकारी ऐन, २०७४ र नियमावली, २०७५ मा व्यवस्था भएको ‘कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधीकरण, बचत तथा कर्जा सुरक्षण कोष’ तत्काल स्थापना हुनुपर्ने लगायत १३ बुँदे मागपत्र कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय झापामार्फत ध्यानाकर्षण गराएको प्रदेश तथा जिल्ला सहकारी संघका सचिव तथा कार्यक्रम सञ्चालक भवानीप्रसाद दंगालले जानकारी लिए ।

कार्यक्रममा झापा जिल्ला सहकारी संघका लेखा समिति संयोजक चूडामणि ओझा, संघका कोषाध्यक्ष अर्जुन दंगाल र जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका सहसचिव कमलकुमार घिमिरे लगायतले सहकारीहरुको वर्तमान अवस्थाको बारेमा धारणा राखेका थिए ।

कार्यक्रममा कृषि सहकारी संघकी केन्द्रीय उपाध्यक्ष मिनाकुमारी ढकाल, जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष तुलाराम न्यौपाने र जिल्ला सहकारी संघ झापाका अध्यक्ष ढकालले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिएका थिए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले सहभागीहरुलाई स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer