२०८२ जेठ २८ बुधबार
Jhapa Today
Adv top

पूर्वाञ्चल क्यान्सर अस्पताल र राजीव गान्धी इन्स्टिच्युटबीच सम्झौता


असार ३१,बिर्तामोड । बिर्तामोड झापास्थित पूर्वाञ्चल क्यान्सर अस्पताल र भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरबीच सेवा र प्रविधि आदानप्रदान सम्बन्धी दुईपक्षीय सम्झौता भएको छ ।

बिर्तामोडमा भएको एक समारोहमा पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्र यादव र राजीव गान्धी क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. सुधीर कुमार रावलले सम्झौतामा हस्ताक्षर गरेका छन् ।


उक्त सम्झौतामा क्यान्सर अस्पतालले क्यान्सर उपचार प्रविधिका ज्ञान सीप साटासाट गर्ने, राजीव गान्धी अस्पतालमा उपचारमा गएका नेपाली बिरामीको फलोअपको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा पठाउने, दुई अस्पताल बीच टेली मेडिसिन प्रविधिबाट बिरामीको उपचारमा सहयोग गर्ने, पूर्वाञ्चल अस्पतालका चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीहरुलाई समय समयमा तालिम गराउने, पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपलब्ध हुन नसक्ने सेवाका लागि राजीव गान्धी रिफर गरिएका बिरामीलाई सिधै सम्बन्धित चिकित्सकबाट उपचार हुने व्यवस्था मिलाउने, पूर्वाञ्चल क्यान्सर अस्पतालबाट रिफर भएर गएका बिरामीहरुको सम्पूर्ण खर्चको १० प्रतिशत छुट दिने उल्लेख रहेका छन् ।


सम्झौता पत्रमा हस्ताक्षर गर्दै राजीव गान्धी अस्पतालका निर्देशक डा. रावलले पूर्वाञ्चल क्यान्सर अस्पताल नेपालमा मात्र नभएर भारतको पश्चिम बंगाल, गुहावटी, सिक्किम राज्यमा नै प्रविधिले सम्पन्न अस्पताल नभएको बताए । उनले नेपालमा क्यान्सर उपचारको टिम प्रविधि सहितको आधुनिक एकीकृत अस्पताल रहेको भन्ने कुरा आफैँ आएर हेरेपछि मात्र थाहा पाएको बताए ।

राजीव गान्धीसँगको सम्बन्धले पूर्वाञ्चलका कार्यरत चिकित्सक नर्स लगायत स्वास्थ्यकर्मीले थप अध्ययनकोलागि बाटो खुलेको, पूर्वाञ्चलमा बिरामीले थप सेवा पाउने र राजीव गान्धीमा उपचारका लागि गएका बिरामीको फलोअपका लागि जाँदा लाग्ने खर्च कम हुँदा जनतालाई नै फाइदा पुग्ने बताए ।


पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. यादवले अस्पताल स्थापना भएको अढाई वर्षमा नै राजीव गान्धी जस्तो संस्थासँग सहकार्य गर्न पाउनु पूर्वाञ्चल क्यान्सर अस्पतालले दिएको सेवाको विश्वसनीयता भएको बताए । डा रावलले राजीव गान्धीमा क्यान्सरको उपचारकालागि आउने बिरामी मध्ये १५ प्रतिशत नेपाली बिरामी हुनेगरेको बताए । डा.यादवले पूर्वाञ्चलमा हुन नसक्ने बोनम्यारो टा«न्सप्लान्ट लगायत केही सेवाको लागि राजीव गान्धीमा यहीको निदानका आधारमा सिधै बिरामीले सेवा पाउने समेत जानकारी दिएका छन् ।

विएण्ड सी मेडिकल कलेजका प्रिन्सिपल तथा रेडियोलोजी विभाग प्रमुख प्राडा उमेश शर्माले २५ वर्षे युवा राजीव गान्धी र अढाई वर्षे बालक पूर्वाञ्चलबीच भएको एतिहासिक सम्झौताले नेपालको क्यान्सर उपचारको क्षेत्रमा फड्को मार्ने विश्वास रहेको जानकारी दिए ।

Adv footer