बिर्तामोड, साउन ३० । बिर्तामोडमा भएको सुत्केरी प्रकरणमा कुनै सहमति नभएको तथा सुत्केरी २७ वर्षीया सिर्जना संग्रौलाको बिर्तासिटी हस्पिटलमा उपचार भइरहेको परिवारले जनाएको छ ।
मनमोहन अस्पतालमा सुत्केरी गराएपछि स्वास्थ्य अवस्था जटिल बनेपछि संग्रौलाको चिन्ताजनक अवस्थामा बिर्तासिटी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
विभिन्न सञ्चारमाध्यममा सहमति भएको तथा दिदीको निधन भएको भन्ने खबर झुटो भएको बहिनी कुसुम संग्रौलाले जानकारी दिइन् । यद्यपि, मनमोहन अस्पताल प्रशासन र पीडित पक्षबीच हिजो रातिसम्म छलफल भएको थियो ।
सिर्जनाको मृत्यु भएको भनिए पनि बिर्तासिटीले औपचारिक घोषणा गरेको छैन । पीडित परिवारले चिकित्सकको लापरबाही भएको बताउँदै आएका छन् ।
अस्पताल पक्षबाट गल्ती स्वीकार गर्दै पीडित पक्षलाई २० लाख क्षतिपूर्ति दिने, उपचारमा संलग्न चिकित्सक एकराज गौतमलाई कारबाहीका लागि सम्बन्धित ठाउँमा सिफारिस गर्ने र नवजात शिशुलाई कक्षा १२ सम्म अध्ययन गराउने सहमति भएको भनिए पनि परिवारले गलत भएको बताएको छ ।
बिर्तासिटी अस्पतालका प्रशासन प्रमुख विनोद बस्नेतका अनुसार सिर्जनाको कोमा अवस्थामा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उनमा एक किसिम ब्रेन डेथको अवस्था छ । अस्पताल ल्याईपुर्याउँदा दिमागमा रगत जमिसकेका कारण तत्काल अपरेसन गरे पनि अवस्था सुधार हुन नसकेको उनले बताए ।
सिर्जनालाई प्रसूति गराउन शनिबार बिहान मनमोहन अस्पताल भर्ना गरिएको थियो । उनले अपरेसनबाट छोरीलाई जन्म दिएकी थिइन् । अपरेसन पश्चात एक्कासि उनको रक्तचाप बढेपछि शनिबार साँझ बिर्तासिटी अस्पताल लगिएको थियो ।
यसअघि प्रकाशित समाचारमा गलत सूचनाका कारण त्रुटि हुन गएकोमा आम पाठकसमक्ष क्षमायचना गर्दछौँ । – सम्पादक