२०८१ बैशाख ३१ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

न्यु स्टारले आज एकैदिन दुई ठाउँ फाइनल खेल्दै


बिर्तामोड, कात्तिक ४ । ग्रामीण भूगोलमा बसेर नेपाली फुटबलमा योगदान गर्दै आएको बिर्तामोड खोपबाडीको न्यु स्टार क्लब आज एकैदिन दुई प्रतियोगितामा उपाधिका लागि खेल्ने भएको छ ।

झापाको ‘ए’ डिभिजन क्लब न्युस्टार क्लबले आज झापाको अर्जुनधारा र कनकाईमा हुने फुटबलको फाइनल खेलमा उपाधिका लागि खेल्ने भएको क्लबका अध्यक्ष कृष्णप्रसाद लिम्बूले जानकारी दिए ।

क्लबको आफ्नै खेल मैदान रहेकाले कडा मेहनतका साथ खेलाडीहरुले नियमित प्रशिक्षण गर्दै आएकाले उपाधि जित्ने क्लबका अध्यक्ष लिम्बूले बताए ।

राम्रो व्यवस्थापन भएको टिम वर्क र वडा कार्यालयबाट भइरहेको साथ सहयोगले खेलाडीहरुको खेलस्तर बृद्धि भएको उनले जानकारी दिए ।

क्लबले कनकाई–५ तुलसीबारीको प्रदेशस्तरीय मिनी गोल्डकप फुटबल प्रतियोगितामा आयोजक रेलिमाई स्पोर्टिङ क्लबसँग स्पर्धा गर्नेछ । त्यस्तै, अर्जुनधारा–११ लक्ष्मीधापमा प्रथम लक्ष्मीधाप जिल्लास्तरीय फुटबल प्रतियोगितामा शनिश्चरे एफसीको सामना गर्नेछ ।

कनकाईको प्रतियोगिता जितेमा न्यु स्टारले नगद १ लाख ११ हजार रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताको पुरस्कार राशि ७५ हजार रुपैयाँ रहेको छ ।

लक्ष्मीधाप प्रतियोगिताको फाइनल खेलको विजेताले नगद ५१ हजारसहित ट्रफी पाउनेछ भने उपविजेताले नगद ३१ हजारमा चित्त बुझाउनु पर्नेछ ।

लक्ष्मीधापमा बिर्तामोड युनाइटेडलाई १–० र जलथल एफसीलाई ४–१ गोल अन्तरले हराउँदै न्यु स्टार फाइनलमा पुगेको हो भने कनकाईको प्रदेशस्तरीय मिनी गोल्डकपको फाइनलमा पुग्नका लागि न्यु स्टारले एपिएफ पूर्वाञ्चल पकलीलाई ३–० र काजीमान फुटबल क्लब चन्द्रगढीलाई १–० ले हराएको थियो ।

आफूहरु दुवै प्रतियोगिताको उपाधि जित्नेगरी मैदानमा उत्रिने क्लबका अध्यक्ष लिम्बूले बताए । एकैदिन एउटै समयमा दुई ठाउँमा फाइनल खेल्न चुनौती रहे पनि खेलाडीहरु पूर्ण तयारीका साथ दुईवटै उपाधि जित्ने उच्च मनोबलका साथ मैदानमा उत्रिने सुब्बाले बताए ।

सानो राशि भएका धेरै प्रतियोगिताको उपाधि जितिसकेको उदीयमान क्लब न्यु स्टारले गत बैशाख ३० देखि जेठ ६ गतेसम्म न्यु स्टार अन्तर्राष्ट्रिय गोल्डकप सञ्चालन गरेको थियो । सो प्रतियोगिताको फाइनल जितेर क्लबले उपाधि आफैँ राखेको थियो ।

क्लबले आगामी मंसिरको दोस्रो साता झापा जिल्लास्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer