२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

झापाका १६ वटा इँटा उद्योग बन्द


बिर्तामोड, मंसिर ८ । आर्थिक मन्दीका कारण झापाका १६ वटा इँटा उद्योग बन्द भएका छन् । वित्तीय संकट थपिएकाले उद्योगहरु धमाधम बन्द भएका हुन् ।

झापा इँटा उद्योग संघका अध्यक्ष गुणराज थापाका अनुसार झापाका २३ वटा इँटा उद्योगमध्ये आर्थिक मन्दीका कारण १६ वटा बन्द भएका हुन् । चलिरहेका उद्योगले समेत ७० प्रतिशत उत्पादन कटौती गरिसकेको थापाले बताए ।

झापाको हल्दिबारी, बाह्रदशी, बिर्तामोड, गौरादह, कमल, दमक, मेचीनगर र गौरीगञ्जमा इँटा उद्योगहरु सञ्चालनमा रहेका छन् । यहाँ उत्पादित इँटाले जिल्लाबाहिर इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ र सुनसरीसम्म बजार ओगटेको थियो ।

दमकको गरिमा टायल्स उद्योग र गौरादहको ए–वान इँटा उद्योगका प्रोपाइटर समेत रहेका थापाले आर्थिक सुधारको कुनै उपाय भएन भने सबै इँटा उद्योग धराशायी हुने बताए ।

झापा इँटा उद्योग संघले जनाएअनुसार जिल्लाका इँटा उद्योगहरुमा २५० करोड रुपैयाँ लगानी रहेको छ । कोभिडको महामारी आउनुअघि उद्योगहरुले वार्षिक तीन अर्ब ५२ करोड मूल्यबराबरको इँटा उत्पादन गर्दै आएका थिए । हाल वार्षिक उत्पादन घटेर १८ करोड ३७ लाख रुपैयाँमा झरेको छ ।

इँटा व्यवसायी महासंघ कोेशीका वरिष्ठ उपाध्यक्ष सीताराम भट्टराईले उत्पादन बिक्री नहुने र बैंकको व्याजको तनावले इँटा व्यवसायीहरु मानसिक तनावमा रहेको बताए ।

उद्योग संकटग्रस्त हुनुमा सरकारले पूँजीगत खर्चमा गरेको कटौती मुख्य कारण भएको उद्योगीहरु बताउँछन् । पुँजीगत खर्च कटौतीसँगै सरकारी विकास निर्माणका योजना ठप्प भएका छन् । मन्दीका कारण निजी क्षेत्रमा समेत निर्माण कार्य ठप्प हुँदै गएको छ ।

सरकारले काम भइसकेका निर्माण योजनाहरुको भुक्तानी रोकेका कारण समेत ठेकेदारहरुले इँटाभट्टा व्यवसायीको भुक्तानी रोकेका छन् । वार्षिक छ प्रतिशत शर्तमा लिएको ऋणको व्याज अहिले १६ प्रतिशतसम्म बैंकहरुले असुलिरहेको झापा इँटा उद्योग संघका अध्यक्ष थापाको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer