
बिर्तामोड, जेठ ५ । चारजनाको फोटो सार्वजनिक गर्दै आत्महत्या गरेका झापाको दमक नगरपालिका–८ लक्ष्मीमार्ग टोलका ४२ वर्षीय बैंकर पिताम्बर खड्का पछिल्लो समय ग्लोबल आइएमई बैंकको कोशी प्रदेश कार्यालयमा कार्यरत रहेको खुल्न आएको छ ।

बैंक स्रोतका अनुसार लामो समयदेखि कोशी प्रदेशका विभिन्न जिल्लामा शाखा प्रबन्धक (ब्रान्च म्यानेजर) का रूपमा कार्यरत खड्काको कार्यदक्षतालाई लिएर बैंकभित्र केही समयदेखि विवाद र प्रश्नहरू उठेको थियो ।

बैंकको आन्तरिक अनुसन्धानले उनले वित्तीय कारोबारका क्रममा नियमको उल्लंघन गरेको, विशेषगरी लोन प्रवाहलगायतका विषयमा आर्थिक अनुशासन पालना नगरेको आरोप लगाएको थियो ।

यसै आधारमा उनलाई शाखा प्रबन्धकको जिम्मेवारीबाट हटाएर प्रदेश कार्यालयमा सरुवा गरिएको थियो । सोही आरोपका कारण उनलाई दुई वर्षसम्म बढुवा नहुने गरी आन्तरिक कारबाही गरिएको थियो ।

बैंक प्रशासनको यो कारबाहीपछि खड्का तनावमा थिए । उनी आफूमाथि लागेको आरोप निराधार रहेको र त्यसलाई प्रमाणित गर्न आफूसँग समय हुनुपर्ने भन्दै तीन महिनाको समय मागेका थिए । र, बैंकले पनि उनलाई तीन महिनाको समय दिएको थियो ।

सोही क्रममा उनले ‘आफूलाई लागेका आरोपहरूको स्पष्टीकरण दिन’ भन्दै जेठ ४ गतेसम्मको समय सीमा राखेर बैंकमा तीन महिनाअघि राजीनामा पत्र पनि बुझाएका थिए ।
उनले चित्तबुझ्दो आधार पेस गर्न नसकेको भन्दै बैंकले उनको राजीनामा जेठ ४ गतेसम्म स्वीकृत गरेको थियो । राजीनामा स्वीकृत भएको दिन नै उनले आत्महत्या गरेका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई चारजनाले मर्न बाध्य बनाएको भन्दै ती चारजनाको नाम सार्वजनिक गरेका छन् ।
खड्काले फेसबुकमा दिपचन्द्र रेग्मी, अनमिका कुँवर सिंह, सुरेन्द्र रेग्मी र सुमन पोखरेलको तस्बिर सार्वजनिक गर्दै उनीहरूकै कारण आफू आत्मघाती कदम चाल्न बाध्य भएको आशयको स्टाटस लेखेका थिए । उनले सार्वजनिक गरेका चार जना ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सहित उच्च पदस्थ व्यक्तिहरु हुन् ।
बैंक स्रोत भन्छ, लामो समयदेखि खड्का कोशी प्रदेशका विभिन्न जिल्लाका शाखा प्रमुख थिए । सोहि बेला आर्थिक अनुशासन तोडिएका केही गुनासो आएपछि बैंकले कारबाही स्वरुप प्रदेश कार्यालयमा सरुवा गरेर दुई वर्ष बढुवा नहुने कारबाही गरेको थियो ।
तर, तोकिएको समयसम्म स्पष्ट स्पस्टिकरण नआएपछि उनको राजिनामा जेठ ४ गते स्वीकृत गरेको थियो । मृतकले अर्को कुनै सुसाइड नोट छोडेका छन् वा छैनन् भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा खटिएको टोली घटनास्थलमा पुगेको थियो ।
प्रहरीले घटनास्थलबाट मुचुल्का तयार पार्ने काम सम्पन्न गरिसकेको छ भने शव पोस्टमार्टमका लागि दमक अस्पताल पठाएको छ । प्रहरीले खड्काको फेसबुक स्टाटस र बैंकमा भएको भनिएको विवादको सम्बन्धमा सूक्ष्म अनुसन्धान गरिरहेको छ ।






