२०८१ बैशाख २२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

कोशीमा खेलकुदलाई बेवास्ता, राष्ट्रपति रनिङ शिल्ड र दसौँ राष्ट्रिय खेलकुद अन्योलमा


बिर्तामोड, मंसिर १७ । कोशी प्रदेश सरकारले खेलकुद क्षेत्रलाई पूरै बेवास्ता गर्दै बजेट विनियोजन गरेको छ । यो आर्थिक वर्षमा राष्ट्रपति रनिङ शिल्ड र दसौँ राष्ट्रिय खेलकुदको तयारी गर्नुपर्ने भए पनि सरकारले खेलकुद नबुझ्दा अत्यन्तै न्यून बजेट छुट्याइएको हो ।

प्रदेशसभाबाट पारित भएको बजेटमा पहुँचवालाहरूको हालिमुहाली भएको प्रस्ट देखिएको छ । कोशीमा भने सत्तापक्ष र प्रतिपक्षले भागबण्डा गरेरै बजेट आआफ्नो क्षेत्रतिर लगेका छन् ।

प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेले खेलकुदलाई सरकारले हेपेको आरोप लगाए । बजेट नछुट्याएकोमा उनले सरकारकै विरोध गरेका छन् ।

खेलाडी र जिल्ला अध्यक्षहरूलाई बोलाएर मुख्यमन्त्रीलाई सबै गर भनेर जिम्मा लगाउने तयारी गरिरहेको वाग्लेले जानकारी दिए । कम बजेटका कारण प्रशिक्षक राख्नसमेत समस्या भइरहेको उनले बताए । उनले भने, ‘गरे गर नगरे नगर भनेर बजेट राखिएको छ ।’

वाग्लेले सरकारले खेलकुदलाई शून्यतामा झारेको आरोप लगाएका छन् । ‘१० लाख रुपैयाँ बजेट विनियोजन गरेर प्रदेशस्तरीय कबड्डी प्रतियोगिता गर्न भनेर बजेट विनियोजन गरिएको छ,’ वाग्लेले प्रश्न गरे, ‘यति बजेटले वडास्तरीय प्रतियोगिता पनि गर्न गाह्रो छ । अनि कसरी प्रदेशस्तरीय हुन्छ ?’

वाग्लेका अनुसार राष्ट्रपति रनिङ शिल्डमै ६ करोड रुपैयाँजति खर्च हुन्छ । ‘कर्णालीमा हुने दसौँ राष्ट्रिय खेलकुदका लागि तयारी गर्नुपर्छ, त्यसका लागि नौ करोड चाहिन्छ । वर्षभरि पाँच लाखसम्म लाग्छ भनेर बजेट बनाइएको रहेछ । त्यसले कति पनि हुँदैन । त्यो पनि अब मन्त्रीले लगे हुन्छ,’ उनले भने ।

मुख्यमन्त्री र पूर्वमुख्यमन्त्री गरी चारजनालाई राखेर खेलकुदलाई प्राथमिकता दिन आग्रह गर्दा पनि उनीहरूले बेवास्ता गरेको उनले आरोप लगाए । ‘भान्जाको प्रतिष्ठान बनाउनदेखि शौचालय बनाउन पाँच करोड बजेट छुट्याउन सक्ने सरकारले खेलकुदलाई बेवास्ता गर्यो,’ आक्रोशित हुँदै उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer