२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

ज्यामिरगढीको मेची बगरमा युवाले फलाए ८६ लाखको आलु


बिर्तामोड, मंसिर २६ । दशगजासँग जोडिएको झापाको मेची नदीको बगरमा काँसघारी फाँडेर दुई युवा किसानले ८६ लाख रुपैयाँको आलु फलाएका छन् ।

मेचीनगर-१५ मा लीला खनाल र हरि नेपालले यसै वर्ष १०८ बिघा जग्गा भाडामा लिएर नेपाली बाबु स्मार्ट कृषि फार्म सञ्चालन गरेका थिए । फार्मको ११ बिघा जग्गामा पहिलो बालीको रुपमा आलु उत्पादन भएको हो ।

आधुनिक प्रविधिबाट ४५ लाख रुपैयाँ लगानीमा आलु खेती गरेको सञ्चालक खनालले जानकारी दिए । उनका अनुसार हाल एक कट्ठा जग्गमा लगभग ११ क्विन्टलका दरले आलु उत्पादन भएको छ । आलु खन्ने, रोप्ने, गोड्ने र सिँचाइका लागि ४५ जना श्रमिकले दैनिक रोजगारी पाइरहेका छन् ।

फार्ममा उत्पादित पहिलो यामको सेतो आलु खन्ने र बिक्री गर्ने काम धमाधम भइरहेको छ । ११ बिघामा दुई हजार ३३२ क्विन्टल आलु फलेको र विर्तामोडलगायत झापाका विभिन्न बजारबाट खेतमै आउने व्यापारीले प्रतिक्विन्टल तीन हजार ७०० रुपैयाँका दरले आलु किनेर लैजाने गरेको खनालले जानकारी दिए ।

आलु व्यापारीले फार्मबाट प्रतिकेजी ३७ रुपैयाँका दरले लैजाने गरेको उक्त आलु हाल खुद्रा बजारमा प्रतिकेजी ५० देखि ६० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । रासायनिक तथा कीटनाशक विषादीको प्रयोग नगरी अर्ग्यानिक प्रविधिबाट खेती गरिएको हुँदा आलुले राम्रो बजार पाएको सञ्चालकको भनाइ छ ।

गत वर्ष भारतको मणिपुरबाट आएर झापामा जग्गा किनेका एक प्रवासी नेपालीसँग लीला खनालको भेट भएको थियो । ती प्रवासी नेपालीले आफूले मणिपुरमा आलु फलाएर बेचेको पैसाले जग्गा किनेको खनाललाई बताएका थिए ।
आलु बेचेर जग्गा जोड्ने कुराले आलु खेती गर्ने प्रेरणा मिलेको खनालले बताए । त्यसपछि आलु खेतीको सम्भाव्यताबारे मणिपुर, आसाम र पञ्जाबसम्म पुगेर खनालले अध्ययन अवलोकन गरेका थिए ।

खनाल पाँच वर्ष कोरियामा वैदेशिक रोजगारीमा गएका थिए । विदेशबाट फर्केपछि उनी परम्परागत कृषि कर्मसँगै घडेरी व्यवसायमा लागेका थिए । अब पूर्णकालीन कृषि व्यवसायमा लाग्ने उनको सोच छ ।

आलुले राम्रो उत्पादनसँगै नाफा दिएपछि फार्मका अर्का सञ्चालक हरि नेपाल उत्साहित छन् । उनी पनि विगतमा तीन वर्ष मलेसियामा वैदेशिक रोजगारी गरेर फर्किएका हुन् ।

विदेशमा रहँदा उनले मलेसियाको कृषि फार्मको अध्ययन गरेका थिए । विदेशबाट फर्केपछि मेचीनगरमा अमृत डेरी स्थापना गरेका उनले विगत चार वर्षदेखि आफूलाई कृषि व्यवसायमा केन्द्रित गरेका छन् ।

-रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer