२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा एक महिने जुत्ता-चप्पल व्यापार महोत्सव सुरु


बिर्तामोड, पुस ९ । कोशी प्रदेशमै पहिलोपटक बिर्तामोडमा आजदेखि एक महिने जुत्ता-चप्पल महोत्सव सुरु भएको छ ।

‘स्वदेशी उत्पादन प्रवर्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ माघ ९ गतेसम्म कोशी प्रदेशस्तरीय ‘प्रथम बिर्तामोड जुत्ता-चप्पल व्यापार महोत्सव २०८०’ सुरु भएको हो ।

बिर्तामोड सिटी सेन्टर इन्भेस्टमेन्ट प्रालिको आयोजना तथा नेपाली जुत्ता उद्योगी समूहसँगको सहकार्यमा महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवमा १५ भन्दा बढी ब्रान्डका जुत्ता-चप्पल राखिएको छ । महोत्सवमा नेपालमा स्थापित चर्चित जुत्ता-चप्पल उत्पादक कम्पनी र ब्रान्डहरु रोयल सुज, बिएफ डियर हिल सुज, क्रसरोड सुज, फस्टवाक सुज, स्मार्ट सुज, डिजे सुज, टुरिस्ट सुज र रन सुज गरी आठवटा कम्पनीका ब्रान्डहरुको सहभागिता रहनेछ । मेलामा ३ हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ता चप्पलहरु उपलब्ध छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य, फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालका अध्यक्ष तथा महोत्सवका संयोजक नानीराज घिमिरेको अध्यक्षतामा भएको महोत्सवलाई बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले उद्घाटन गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, एसोसिएसनका निवर्तमान अध्यक्ष कृष्ण फुयल, बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सिटी सेन्टरका सञ्चालक उमेश राउतले गरेका थिए ।

महोत्सवमा नयाँ डिजाइनका आकर्षक जुत्ता चप्पल खरिदमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको, महोत्सव बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म खुल्ला रहने फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष तथा रन सुज इन्डस्ट्रिजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले बताए ।

महोत्सवमा एक महिना अवधिभर ३ लाख अवलोकनकर्ताको सहभागिता रहने र करिब ३ करोडको कारोबार गर्ने लक्ष्य राखिएको फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष होमनाथ उपाध्यायले बताए ।

उनले महोत्सव सम्पन्न भइसकेपछि सिटी सेन्टरमा सबै कम्पनीहरुले संयुक्त रुपमा सोरुम राख्ने जानकारी दिए । महोत्सवको पहिलो दिन ग्राहकहरुको भीड लागेको थियो ।

महोत्सवप्रति उपभोक्ताहरुको चासो देखिएको र आफ्ना कम्पनीको सामान राम्रै बिक्री भइरहेको स्मार्ट सुज इन्डस्ट्रिज प्रालिका सञ्चालक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer