२०८१ जेठ ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

यातायतामा ठुलो घोटाला, छ महिनामा ३० हजार अवैध लाइसेन्स जारी


बिर्तामोड, पुस २० । यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख, कर्मचारी, बिचौलिया र केही ड्राइभिङ सेन्टरको मिलिमतोमा छ महिनायता मात्रै हजारौँ अवैध लाइसेन्स वितरण भएको पाइएको छ ।

विगत छ महिनायता लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठुलो परिमाणमा लाइसेन्स वितरण भएको पाइएको हो । स्रोतका अनुसार कर्मचारी र बिचौलियाको सेटिङमा त्यस्तो कार्य भएको पाइएको छ ।

स्रोतका अनुसार विगत छ महिनामा मात्रै अवैध खालका ३० हजारभन्दा बढी लाइसेन्स वितरण भएको छ । स्रोतका अनुसार विभागमा अहिले पनि हजारौँ संख्यामा अवैध लाइसेन्स तयार भएको र दुईतीन दिनभित्रमा बाँडिसक्ने तयारी गरिएको छ ।

विशेषगरी विभागका आइटी शाखा प्रमुखसमेत रहेका निर्देशक मुकेश रेग्मी, विभागको डाटाबेसमा पहुँच प्राप्त गरेको एक कन्सल्टेन्सीका प्रतिनिधि सविन श्रेष्ठ तथा विभिन्न यातायात कार्यालयका प्रमुख एवम कर्मचारीको मिलेमतोमा छ महिनाकै अवधिमा ३० हजारभन्दा बढी अवैध लाइसेन्स विभागको सिस्टममा प्रविष्ट भएको पाइएको स्रोतले जानकारी दियो ।

विदेशमा रहेका व्यक्तिको फोटो स्क्यान गरेर अर्कै व्यक्तिको बायोमेट्रिक गरी ब्याक डेटमा लाइसेन्स जारी गरिएको छ । आइटी शाखामा अनुभवी कर्मचारीलाई हटाएर सिकारुलाई राखिएको छ ।

राजधानी बाहिरका यातायात कार्यालयबाट १० देखि १२ वर्षअघिको मितिमा लाइसेन्स जारी गरेको विवरण अनलाइनमा प्रविष्ट गरी दुईपटकसम्म नवीकरण भएको देखाएर लाइसेन्स बाँड्ने काम भइरहेको छ ।

यस्तो काम झापाको बिर्तामोडमा रहेको यातायात कार्यालयबाट समेत भएको स्रोतको भनाइ छ । ट्रायल सेन्टरको मिलेमतोमा अवैध लाइसेन्स वितरण भइरहेको हो ।

विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले पनि यो धन्दा रोक्न नसकेपछि उनीमाथि समेत आशंका सिर्जना भएको छ ।

सवारी लाइसेन्सका लागि काम गर्ने बिचौलियाहरूले प्रतिव्यक्ति ५० हजारदेखि १ लाख २५ हजार रुपैयाँसम्म असुलेर यस्तो काम गरेको र सो रकम माथिसम्ममा नै पुग्ने गरेको स्रोतको दाबी छ ।

योमरी नामक कम्पनीले बनाएको पुरानो रेकर्ड सिस्टम (डिएल) विभाग तथा कार्यालयबाट हेर्न नसक्ने बनाएर पुरानो सिस्टमको रेकर्ड विभागकै कन्सल्टेन्सीका सविन श्रेष्ठमार्फत डाटाबेसमा पुरानो मिति राखेर लाइसेन्स जारी गर्ने गरिएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer