२०८१ जेठ २ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

गुणस्तरको नाममा नेपाली प्लाइउड रोक्दै भारत


बिर्तामोड, पुस २० । नेपाली प्लाइउड पैठारी रोक्न भारतले नयाँ नीति अघि सारेपछि नेपाली प्लाइउड व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् ।

भारतले अन्तर्राष्ट्रिय गुणस्तरीय मापदण्ड (आइएसआइ) अनिवार्य लागु गर्ने भएपछि नेपाली प्लाइउड निर्यातमा समस्या हुने व्यवसायीहरुको भनाइ छ ।

नेपाली सरकारी अधिकारीहरुका अनुसार २०२४ फेब्रअरी २८ बाट भारतले अनिवार्य रूपमा गुणस्तर मापदण्ड लागु गर्दैछ । भारतले तीन महिनाअघि राजपत्रमा सूचना प्रकाशन गरिसकेको छ, जसमा उसले गुणस्तर मापदण्डमा दर्ता हुन नेपाली व्यवसायीलाई समेत आह्वान गरेको छ ।

आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि कात्तिकसम्म काँकरभिट्टा नाका भएर ९६ करोड ९८ लाख ६८ हजार रुपैयाँको प्लाइउड निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कडेलले झापा टुडेलाई जानकारी दिए ।

नेपाल प्लाइउड उत्पादक संघ केन्द्रीय सदस्य खेम प्रसाईंले भारतले नयाँ नीति लागु गरे सन् २०२४ देखि नेपाली प्लाइउडको भारत निर्यात अवरुद्ध हुने बताए ।

नेपाली प्लाइउडको माग भारतमा बढ्न थालेपछि भारतले रोक्न खोजेको मेची उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका प्रसाईंको आरोप छ ।

नेपालको गुणस्तर मापदण्डलाई भारतले मान्यता दिन नमानेपछि भारतसँग सरकारले पहल सुरु गरेको छ । तर, समस्या किनारा नलागेसम्म नेपाली व्यवसायी समस्यामा पर्ने प्रसाईंको भनाइ छ ।

नेपाली प्लाइउड भारतको महाराष्ट्र, कर्नाटक, राजस्थान, जयपुर, बैङ्लोर, उत्तर प्रदेशमा धेरै खपत हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer