२०८१ जेठ २ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

अलैँचीको भाउ आठ वर्षपछि प्रतिमन ८० हजार


बिर्तामोड, पुस २६ । ‘कालो सुन’को उपनामले चिनिने अलैँचीको भाउले आठ वर्षपछि लय समाउन थालेको छ ।

आठ वर्षअघि प्रतिमन एक लाख २० हजारसम्ममा बिक्री भएको अलैँचीको मूल्य ओरालो लाग्दै प्रतिमन २० हजारसम्म झरेको थियो । तर, गत वर्षबाट फेरि मूल्य पाउन थालेपछि यस वर्ष प्रतिमन ८० हजारसम्ममा किनबेच भएको छ ।

अहिले अलैँची प्रतिमन ७८ हजारमा कारोबार भइरहेको नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले झापा टुडेलाई जानकारी दिए ।

महासंघका महासचिव नारायणप्रसाद चिमरियाका अनुसार ग्रेडिङ भएर तयार भएको अलैँची ७८ हजारमा कारोबार भइरहेको छ । केही दिनअघि प्रतिमन ८१ हजारसम्म बिक्री भएको थियो ।

७८ हजार रुपैयाँ प्रतिमनमा ग्रेडिङ गरेको अलैँची बिक्री हुँदा किसानले ७४–७५ हजार रुपैयाँ प्रतिमन मूल्य पाउने उनले बताए ।

गत वर्ष अलैँची सुरुवातमा २५ हजार प्रतिमनबाट बिक्री सुरु भएको थियो । सिजनको अन्तिमसम्म ५९ हजार प्रतिमन बिक्री भएको उपाध्महासचिव चिमरियाले जानकारी दिए ।

यसैबीच, चालु आर्थिक वर्षको मंसिरसम्म मेची भन्सारबाट तीन अर्ब रुपैयाँभन्दा बढीको अलैँची निर्यात भएको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ ।

चालु आर्थिक वर्ष ०८०/०८१ को मंसिर मसान्तसम्म २३ लाख ७४ हजार ११० केजी अलैँची निर्यात भएको छ । जसबाट तीन अर्ब नौ करोड ८६ लाख १४ हजार रुपैयाँ नेपाल भित्रिएको तथ्यांक छ ।

कारोबार हुने हिसाबले झापाको बिर्तामोड नेपालकै प्रमुख व्यापारिक केन्द्र रहेको छ । अलैँची मुख्यतः मेची भन्सार कार्यालय काँकडभिट्टाबाट मात्रै ९० प्रतिशत अलैँची भारत निकासी हुँदै आएको छ । बाँकी अलैँची पाकिस्तान र युएई पनि निर्यात हुने महासचिव चिमरियाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer