२०८१ जेठ ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

मिटरब्याज साहुका कारण शिवसताक्षीका स्थानीयको बिचल्ली


बिर्तामोड, माघ १५ । मजदुरी गरेर परिवार पाल्दै आएका झापा शिवसताक्षी–११ का चन्द्र नेम्वाङ स्थानीय दिपक तामाङबाट ठगिएका छन् ।

घर बनाउन पैसा चाहिने भएपछि उनले २०७१ मा शिवसताक्षी नगरपालिकाका कर्मचारीसमेत रहेका तामाङसँग ६ लाख ऋण लिए । तामाङले त्यसबापत चार कट्ठा १८ धुर जग्गा राजीनामा पास गरेर धितो राख्नुपर्ने सर्त अघि सारे । अहिले अलमलमा परेका छन् ।

उनले मिटरब्याजपीडितको रूपमा जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका छन् । तर, शिवसताक्षी–११ का वडा अध्यक्ष बहादुर आङ्बोले फिर्तीनामा कागज प्रमाणित गर्न मानेका छैनन् ।

शिवसताक्षी–११ कै सुकमती तामाङको घरजग्गा अहिले अर्काकै नाममा पुगेको छ । जग्गा डुबेपछि मानसिक तनावमा रहेका श्रीमान सन्तबहादुरको पनि मृत्यु भइसक्यो ।

२०७३ मा फिर्ता गर्ने कागज गर्दै २०७१ मा सन्तबहादुरले जीवन बोहरा र घनश्याम मगरको नाममा १३ कट्ठा जग्गा धितोका रूपमा राजीनामा पास गर्दै २० लाख रुपैयाँ लिए ।

उनको करोडमाथिको सम्पत्ति हात पारेपछि उनीहरू सम्पर्कविहीन छन् । मिटरब्याजीले सम्पत्ति खाएपछि सन्तबहादुर डिप्रेसनको शिकार भएका थिए ।

२०७० मा शिवसताक्षी–११ का भवानीशंकर नेपाललाई घरायसी कामका लागि तीन लाख रुपैयाँ आवश्यक प¥यो । खेती–किसानी गरेर खाने भवानीशंकरसँग सम्पत्तिको नाममा आठ कट्ठा १२ धुर जग्गा र भत्कन लागेको काठको घर मात्र थियो ।

छिमेकी खड्गबहादुर काम्बाङसँग तीन लाख लिए । बदलामा उनले जग्गा राजीनामा पास गरिदिए । पैसा तिर्ने समय तीन वर्षको राखियो ।

पैसा फिर्ता गरेपछि जग्गा फिर्ता गर्ने घरायसी कागज गरियो । भवानीशंकरको निधन भइसक्यो । अहिले जग्गा फर्काउन उनका छोरा महानन्द संघर्ष गरिरहेका छन् ।

भवानीशंकरको जग्गा खड्गबहादुरबाट अशोककुमार कोइराला, सुरजकुमार बस्नेत हुँदै अहिले हिमा लिम्बू र हरिमाया पौडेलको संयुक्त नाममा आएको छ ।

हिमा लिम्बूको संरक्षकमा श्रीमान् डम्बर पुलामी बसेका छन् । पुलामीले विगतमा नेपाल परिवारलाई बारम्बार घर खाली गर्न धम्की दिन्थे । तर, पछिल्लो समय उनी मौन छन् ।

जग्गा बेच्न भनेर हेर्ने मान्छे पठाइरहन्छन् । तर, नेपाल परिवारले जग्गाबारे बताएपछि किन्न गएका फर्किने गरेका छन् ।

यो जग्गा पूर्व–पश्चिम राजमार्गदेखि सात सय मिटर दक्षिणमा मात्र पर्छ । तीन लाखमा डुबेको नेपालको घरजग्गा अहिले करिब दुई करोडको भएको छ ।

नेपाल परिवारको आयस्रोत नै आठ कट्ठा जग्गा हो । पुलामीले भने आफूले जग्गा किनेर लिएको बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer