२०८१ जेठ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

पाडाजुँगीको आदिवासी रंगशालाको निर्माण कार्य पुनः सुरु


बिर्तामोड, माघ २४ । नाममा विवाद आएपछि बजेट आएर पनि निर्माण कार्य रोकिएको झापाको कमल गाउँपालिकाको पाडाजुँगीमा रहेको आदिवासी रंगशालाको काम पुनः सुरु भएको छ ।

रंगशाला समितिका महासचिव दिपेनवाला राईका अनुसार राष्ट्रिय खेलकुद परिषदमार्फत यस वर्ष एक करोड रुपैयाँ बजेट विनियोजन भएपछि रंगशालाको काम थालिएको हो ।

रंगशाला निर्माणका लागि परिषदको ७६ लाख ९२ हजार ६९२ रुपैयाँ र उपभोक्ताको ८ लाख ५४ हजार ६९२ रुपैयाँ गरी कुल ८५ लाख ४६ हजार ९२८ रुपैयाँको बजेटबाट ३ सय मिटर लामो कम्पाउन्ड वाल निर्माण गरिने उनले जानकारी दिए ।

उपभोक्ता समितिले माघ १८ बाट सुरु भई २०८२ जेठ १५ गतेभित्रमा योजनाअनुसार काम सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ ।

निर्माण कार्यलाई प्रभावकारी बनाउन उपभोक्ता समितिले साताको शनिबार स्थानीयलाई श्रमदान गर्नेगरी काम अघि बढाउने रंगशालाका अध्यक्ष समेत रहेका कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताए ।

आज रंगशालामा परिसरमा संक्षिप्त कार्यक्रम गरी निर्माण कार्य औपचारिक रुपमा सुरु गरिएको हो । अध्यक्ष राईले आदिवासी रंगशालाको कामले अब गति लिने विश्वास व्यक्त गरे ।

रंगशालाको अगुवाई स्थानीय आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानले गर्दै आएको छ । वर्षोदेखिको आदिवासी, जनजातिको पितृको चिहान २०६६ सालमा भत्काएर आदिवासी रंगशाला निर्माण गर्न स्थानीय स्तरमा सहमति भएको थियो ।

तर ,पछिल्ला केही वर्ष भने रंगशालाको नाममा विवाद बनेपछि रंगशालामा सरकारी बजेट प्राप्त हुन नसक्दा निर्माण कार्य रोकिएको थियो ।

सरकारले रंगशालामा बजेट उपलब्ध नगराउँदा रंगशालाको कामले गति लिन सकेको थिएन । रंगशालाको कामका लागि विभिन्न आर्थिक वर्षमा ४ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन भए पनि बजेट पूर्ण रुपमा कार्यान्वयन हुन नसक्दा रंगशाला ओझेलमा परेको थियो ।

केपी शर्मा ओली सरकारको पालामा आदिवासी रंगशाला तथा स्मृति पार्कको सट्टा मदन भण्डारी स्मृति रंगशालाको नाममा बजेट विनियोजन गरिएपछि काम हुन सकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer