२०८१ जेठ १ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

चर्च ब्वाइज झापा गोल्डकपको नयाँ च्याम्पियन


बिर्तामोड, फागुन २८ । नाइजेरियन स्ट्राइकर अबयोमी ओलुवासेउन फकुन्लेको दुई गोल प्रेरित चर्च ब्वाइज युनाइटेड झापा गोल्डकप फुटबलको नयाँ च्याम्पियन बनेको छ । सोमबार भएको फाइनल खेलमा चर्च ब्वाइजले विभागीय टोली सश्स्त्र प्रहरी बलको एपिएफ एफसीलाई ३–० ले पराजित गर्याे ।

सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइजको जितमा फकुन्लेले दुई तथा राजेश परियारले एक गोल गरे । चर्च ब्वाइज पहिलो सहभागितामै च्याम्पियन बन्न सफल भएको हो ।

टोली अपराजित रहँदै च्याम्पियन भयो । च्याम्पियन चर्च ब्वाइजले १३ लाख रुपैयाँ प्राप्त गरेको छ । पहिलोपटक च्याम्पियन बन्ने लक्ष्य राखेको एपिएफ भने उपविजेता बन्दै सात लाखमा चित्त बुझाउन बाध्य भयो ।

खेलको १२औँ मिनेटमा फकुन्लेले पहिलो गोल गरे । गोलकिपर एन्जल श्रेष्ठ अगाडि बढको अवस्थामा फकुन्लेले चलाखीपूर्ण रुपमा गोल गर्न सफल भएका हुन् । दोस्रो गोल ७२औँ फकुन्लेले नै गरे । मध्यभागबाट बल अगाडि बढाउँदै फकुन्लेले गोलकिपर एन्जललाई बिट गरेर सुन्दर गोल गरेका हुन् ।

तेस्रो गोल ८७औँ मिनेटमा भयो । वैकल्पिक खेलाडी राजेश परियारले तेस्रो गोल गरे । विजय भुजेलको स्थानमा मैदान प्रवेश गरेका राजेशले फकुन्लेको सुन्दर पासमा गोल गरेका हुन् ।

पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको विभागीय टोली एपिएफले फाइनलमा भने आशा गरिएअनुसार प्रदर्शन गर्न सकेनन् । दुवै टोली मुख्य प्रशिक्षकबिना मैदानमा उत्रिएका हुन् । चर्च ब्वाइजको टच लाइनमा अध्यक्ष रुबेन राई थिए भने एपिएफको प्राविधिक क्षेत्रमा सुुशील अधिकारी थिए ।

यसअघि खेलमा एपिएफले केही अवसर बनाए पनि सदुपयोग गर्न सकेन । १८औँ मिनेटमा एपिएफका फोडे फोफानाको पासमा अनिश महर्जन गोल गर्न चुके । पहिलो हाफको इन्ज्युरी समयमा फोडेकै प्रहार चर्च ब्वाइजका कप्तान दीप कार्कीले पञ्च गरे । खेलको ८१औँ मिनेटमा एपिएफका विदेशी खेलाडी आन्द्रे थेरी वियिकको फ्रिकिक गोलकिपर दीपले पञ्च गर्दै क्लिन सिट राख्न सफल भए ।

चर्च ब्वाइजले केही अवसर बनाएपछि थप गोल गर्न सकेन । ३१औँ मिनेटमा विकु राईले हानेको प्रहार एपिएफका गोलकिपर एञ्जल श्रेष्ठले बचाए । ७२औँ मिनेटमा विजय भुजेलले गोलकिपर एञ्जल बिट गरेको अवस्थामा पनि गोल गर्न चुकेका थिए ।

खेलको प्लेयर अफ द म्याच विजेता टिम चर्च ब्वाइजका सुरज जिउ ठकुरी भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए ।
फागुन १९ गतेदेखि सुरु भएको छैटौँ झापा गोल्डकपमा नेपालका ए डिभिजनसहित १० टिमको सहभागिता रहेको थियो ।

विधागत पुरस्कारमा पनि चर्च ब्वाइजको बर्चस्व रह्यो । चर्च ब्वाइजका दीप कार्की उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर चर्च ब्वाइजका सर्ज डिका, उत्कृष्ट फरवार्डसँगै उच्च गोलकर्ताको पुरस्कार अवयोमी फकुन्लेले पाउँदा एपिएफका शरण बस्नेत उत्कृष्ट मिडफिल्डर भए ।
त्यस्तै, उत्कृष्ट प्रशिक्षक चर्च ब्वाइजका अध्यक्ष रुबेन राई भए । उदीयमान खेलाडी झापा ११ का कप्तान पेमा तामाङ भए । उनीहरुले जनही नगद २५ हजार पुरस्कार पाए ।

गोल्डकपको उत्कृष्ट खेलाडी चर्च ब्वाइजका डिफेन्डर सञ्जीत राई भए । उनले एक थान यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गरे ।
विजेता तथा उपविजेता टिम र खेलाडीलाई प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मा, कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले, एन्फा अध्यक्ष पंकज नेम्वाङ, अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगाना, गोल्डकपका अध्यक्ष विनोद बस्नेत, पूर्वअध्यक्षहरु जलकुमार गुरुङ, महेन्द्रकुमार गिरीलगायतले नगद, ट्रफी तथा मेडल प्रदान गरेका थिए ।

च्याम्पियन भएपछि चर्च ब्वाइजका अध्यक्ष रुबेन राईले खेलाडीको मेहनेतले जित निकालेको बताए । उनले खेलाडीको तारिफ गर्दै योजनाअनुसार सफल भएको प्रतिक्रिया दिए ।

पराजित एपिएफका प्रशिक्षक सुशील अधिकारीले सामान्य गल्तीको कारण पहिलो गोल बेहोरेकाले टोलीमा सन्तुलन बिग्रेको बताए । उनले भने, ‘पहिलो गोल बेहोरेपछि खेलाडी आत्तिएको जस्तो देखिए । त्यसपछि पनि राम्रो गर्नै सकेनौँ ।’

गोल्डकप समापनको अवसरमा झापा ११ का पूर्वखेलाडीहरुलाई सम्मान गरिएको थियो । मिनबहादुर बस्नेत, कुमार गिरी, कर्ण लिम्बू, खमिर गिल्सन कन्दङवा, विशाल राई, योगेश गुरुङ, सचिन्द्र धिमाललाई झापा खेल रत्न प्रदान गरिएको थियो । उनीहरुले पाएको पुरस्कार डोमालाल राजवंशी परिवारको घर निर्माणमा सहयोग गर्ने घोषणा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer