२०८१ बैशाख १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

गिरीबन्धुले तलब नदिएपछि भोकै काम गर्दै चिया मजदुर


बिर्तामोड, बैशाख ३ । गिरीबन्धु टि–स्टेटमा कार्यरत चिया बगानका मजदुरहरुले दुई महिनादेखि तलब नपाएको बताएका छन् । चिया मजदुरले दुई महिनादेखि ज्याला नपाएपछि दैनिक गुजारा चलाउन कठिन भएको छ ।

चिया बगानमा कार्यरत १७० जना चिया मजदुरले १२–१२ दिनमा पाउँदै आएको तलब सुविधा नपाएको गुनासो गरेका छन् । चिया टिपेको ज्यालाबाट बिहानबेलुकाको दैनिकी चलाउने चिया मजदुरले साहुले पनि बाँकी दिन छोडेको बताएका छन् । साहुले रासन उधारो नदिएपछि भोकभोकै काम गर्नु परेको उनीहरुको भनाइ छ ।

चिया मजदुर एवम मजदुर नेतृ सावित्रा बञ्जराले भोकभोकै काम गर्न नसक्ने अवस्थामा पुगेको भन्दै तत्काल मजदुरको ज्याला उपलब्ध गराइदिन माग गरिन् । तीन पुस्ताले चिया टिपेको बगानमा अहिले आएर सञ्चालकहरुबाट मजदुरमाथि अन्याय भइरहेको उनको भनाइ छ ।

तत्कालै चिया मजदुरले पाउनुपर्ने ज्याला नपाए आन्दोलनमा जाने चिया मजदुरको भनाइ छ । उनका अनुसार भोकै काम गर्ने चिया मजदुरमाथि कुनै दुर्घटना भए त्यसको जिम्मेवारी सञ्चालकहरुले लिनुपर्नेछ ।

दैनिक ५ सय रुपैयाँका दरले ज्याला पाउने चिया मजदुरहरुले बाँकी भुक्तानी गर्न नसक्दा रासनको जोहो गर्न नसकेको मजदुरहरुको भनाइ छ ।

बगानका व्यवस्थापक सन्त कुमार राईले कम्पनीसँग पैसा नभएका कारण भुक्तानी दिन नसकेको स्वीकार गरेका छन् । उनले आर्थिक संकटकै कारण मजदुरको भुक्तानी रोकिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer