२०८३ बैशाख ५ शनिबार
Jhapa Today
Adv top

इन्डो-नेपाल यु-१३ क्रिकेटः लायन्स र कोलकताको जित


बिर्तामोेड, बैशाख ५ । झापाको अर्जुनधारामा जारी इन्डो–नेपाल यु १३ टि–२० च्याम्पियन्स ट्रफीअन्तर्गत समूह ‘बि’ को पाँचौँ खेलमा विराटनगरको लायन्स क्रिकेट एकेडेमीले इनरुवाको फूलबारी स्पोट्र्स एकेडेमीमाथि १२ रनको रोमाञ्चक जित हात पारेको छ ।

अर्जुनधारामा शुक्रबार सम्पन्न खेलमा लायन्सले प्रस्तुत गरेको १२३ रनको लक्ष्य पछ्याएको फूलबारी २० ओभरमा ६ विकेट गुमाउँदै ११० रनमै सीमित भयो ।

पहिले ब्याटिङ गरेको लायन्स क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२२ रन बनाएको थियो । टोलीका लागि युवराजसिंह बेगवानीले ४५ रनको महत्वपूर्ण इनिङ खेले भने आशिष अधिकारीले २४ रन र सुवास मण्डलले १५ रनको योगदान दिए ।

फूलबारीका लागि बलिङतर्फ समार्थ रायले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । दिवस विष्ट र जेनिस ठाकुरले समान १–१ विकेट लिए ।

१२३ रनको लक्ष्य पछ्याएको फूलबारीका लागि आरम्भ भट्टराईले २२ रनको योगदान गरे । समार्थ रायले १८ रन तथा प्रिन्सकुमार शाहले १७ रन बनाए पनि टोलीलाई जितसम्म पु¥याउन सकेनन् ।

लायन्सका बलर करिताथा बस्नेतले २ विकेट लिए भने शाश्वत बस्नेत र संस्कार भट्टराईले समान १–१ विकेट लिँदै विपक्षीलाई दबाबमा राखे ।

यो जितसँगै लायन्स क्रिकेट एकेडेमीले समूह ‘बि’ मा पहिलो जित दर्ता गर्दै आफ्नो स्थिति सुधार गरेको छ । यसअघि खेलेका दुई खेलमा पराजित लायन्सका लागि यो महत्वपूर्ण जित हो । लगातार दुई खेल जितेको फूलबारीले भने प्रतियोगितामा पहिलो हार बेहोरेको छ ।

यसैगरी, शुक्रबार नै सम्पन्न समूह ‘बि’ को छैटौँ खेलमा भारत, कोलकाताको क्रिकेट जोन अन्दलले इनरुवा क्रिकेट एकेडेमीमाथि १८ रनको जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । अन्दलको जितमा सुमितले ४१ बलमा सर्वाधिक ६३ रनको उत्कृष्ट इनिङ खेले ।

इनरुवा क्रिकेट एकेडेमीको भने समूह चरणमा यो तेस्रो खेल हो । यसअघि खेलेका दुई खेलमध्ये एकमा जित र एकमा हार व्यहोरेको थियो ।

प्रतियोगिताअन्तर्गत समूह चरणका खेलहरू झनै प्रतिस्पर्धात्मक बन्दै गइरहेका छन् भने हरेक दिन दुई खेल सञ्चालन भइरहेका छन् ।

अर्जुनधारा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा बोस्टन क्रिकेट एकेडेमीको सहआयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको मुख्य प्रायोजक नवनीत एकेडेमी हो । प्रतियोगितामा नेपाल र भारतका १० वटा यु–१३ टोलीहरूको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टोलीले नगद १ लाख रुपैयाँ र उपविजेताले नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Adv footer