२०८१ बैशाख २१ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

झापाका सहकारीबाट ३० लाख रुपैयाँ चोर्ने मकवानपुरको एउटै गाउँका छजना सार्वजनिक


बिर्तामोड, बैशाख ९ । झापा जिल्लाका विभिन्न १३ वटा सहकारी संस्थाबाट ३० लाख रुपैयाँभन्दा बढी रकम चोरी गर्ने कार्यमा संलग्न छजनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

झापा जिल्लाका सहकारी संस्थाबाट विभिन्न मिति, समय र स्थानमा ३० लाख १६ हजार ६८७ रुपैयाँ चोरी गर्ने छजनालाई आज सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको समन्वय र जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा बैशाख ७ गते इटहरीबाट पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरु मकवानपुर इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ फालेखका एउटै गाउँका हुन् । उनीहरु आफन्त र नजिकका साथी पनि रहेको बुझिएको छ ।

फालेखका ३० वर्षीय सोमलाल स्याङ्तान, सोही ठाउँका २१ वर्षीय सुनिल भन्ने सन्तबहादुर स्याङ्तान, २२ वर्षीय सुनिल स्याङ्तान, २५ वर्षीय बुद्ध स्याङ्तान, २८ वर्षीय अजय रानामगर र २६ वर्षीय सुजन स्याङ्तान पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले बताए ।

उनीहरुको साथबाट दुईवटा मोटरसाइकल, घर फोड्ने विभिन्न औजारहरु, विभिन्न मोडलका मोबाइलहरु, मुख छोप्ने गम्छा, झोलालगायतका सामानहरु बरामद भएको डिएसपी चन्दले जानकारी दिए ।

पालैपालो गरेर उनीहरुले झापाका विभिन्न सहकारीहरुमा चोरी गरेका थिए । उनीहरुलाई आज झापा जिल्ला अदालतबाट चोरी कसुरमा ५ दिन म्याद थप गरी अनुसन्धान जारी रहेको डिएसपी चन्दले बताए ।

गत चैत २० गते राति गौरादह ५ मा रहेका तीनवटा सहकारी संस्थामा एकैरात चोरी भएको थियो । स्कुलचौन बजारमा रहेको जनहित सहकारी, महारानी झोडा बचत तथा ऋण सहकारीको चप्रामारी सेवाकेन्द्र तथा चप्रामारीकै साना किसान सहकारी संस्थाको कार्यालय तोडफोड गरी नगद चोरी भएको थियो ।

त्यसअघि गत चैत ५ गते राति गौरादह–९ बैगुनधुरास्थित शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको थियो । त्यसको केही दिनअघि हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको हल्दिबारीको मंगलबारेमा रहेको शाखामा चोरी गर्ने प्रयास भएको थियो ।

त्यस्तै, कर्णाली बचत तथा ऋण सहकारी संस्था बिर्तामोड ४, साना किसान कृषि सहकारी संस्था हल्दिबारी ४, एकता बहुउद्देश्यीय सहकारी संस्था हल्दिबारीलगायतका संस्थामा चोरी र तोडफोडका घटना भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer