२०८१ बैशाख २४ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

झापाका सीमा नाका ७२ घण्टाका लागि बन्द


बिर्तामोड, बैशाख १२ । झापा जिल्लासँग जोडिएका काँकरभिट्टा, भद्रपुर, लसुना, खजुरगाछी लगायतका सीमा नाकाहरु आज साँझ ६ बजेदेखि ७२ घण्टाका लागि बन्द गरिएका छन् ।

भारतमा यही बैशाख १४ गते हुने दोस्रो चरणको लोकसभा निर्वाचनका लागि भारतीय आग्रहमा नेपाली नाकाहरु बन्द गरिएका हुन् । बन्द अवधिमा सर्वसाधारण र सवारी साधनको आवतजावत निषेध हुने स्थानीय प्रशासनले जनाएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले काँकरभिट्टा, भद्रपुर, टाघनडुब्बा र गौरीगञ्ज नाका उक्त अवधिमा बन्द रहने जानकारी दिए । आज साँझ ६ बजे बन्द भएका ती नाका बैशाख १४ गते साँझ ६ बजे खुल्ने भएका छन् ।

भारतमा लोकसभाको दोस्रो चरणको निर्वाचन पश्चिम बंगालको दार्जिलिङ र बिहारको किसनगञ्ज जिल्लामा यही बैशाख १४ गते एकैदिन हुँदैछ । भारतका दुबै जिल्ला झापासँग सीमा जोडिएका छन् ।

उक्त अवधिमा नाकाबाट अति जरुरीबाहेक सर्वसाधारण र सवारी साधनको आउजाउ पूरै बन्द हुने प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले बताए । उनले मतदानबाहेकका दिनमा अत्यावश्यक एम्बुलेन्स र हवाई सेवा प्रयोगकर्तालाई भने छुट दिइने जानकारी दिए ।

खुला सीमाका कारण चुनावका बेला सुरक्षा चुनौती बढ्नसक्ने भएकाले भारतीय सुरक्षा निकायको आग्रहमा सीमा नाका बन्द गर्ने बिगतदेखिकै प्रचलन रहेको छ ।

नेपालमा चुनाव हुँदासमेत भारतीय पक्षले उसको सीमा नाका बन्द गर्ने गरेको उनले बताए । चुनावलक्षित नाका बन्दका बेला सीमाको दशगजा क्षेत्रमा दुबै देशका सुरक्षाकर्मीले संयुक्त गस्ती गर्ने जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer