२०८१ जेठ १ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

ओलम्पियन्सको पुनर्मिलन गराउँदै कोशी प्रदेश खेलकुद विकास बोर्ड


बिर्तामेड, बैशाख १७ । कोशी प्रदेशका विभिन्न सहरमा हुने चार दिने ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेटको तयारी पूरा भएको छ ।

प्रदेश खेलकुद विकास बोर्ड कोशीको आयोजना तथा नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा हुने कार्यक्रमको सम्पूर्ण तयारी भएको बोर्डका सदस्यसचिव हंसराज वाग्लेले जानकारी दिए ।

बैशाख १९ गते मोरङको सुन्दरहरैँचा नगरपालिकाबाट सुरु हुने कार्यक्रम इटहरी, बिर्तामोड हुँदै इलामको सूर्योदय नगरपालिकास्थित श्रीअन्तु र कन्याममा पुगेर सम्पन्न हुनेछ ।

वाग्लेका अनुसार पुनर्मिलन कार्यक्रममा ६० जना नेपाली ओलम्पियन्स खेलाडी र २५ जना प्रदेशभित्रका अनुभव र अभ्यासमा विशेष दख्खल राखेका चर्चित खेलाडीलाई सहभागिता गराइनेछ । विदेशी ओलम्पियनस पनि कार्यक्रममा सहभागी हुने छन् ।

बोर्डले खेलकुद पर्यटनलाई उजागर गर्नेगरी पहिलोपटक एकै ठाउँ धेरै खेलाडीलाई प्रदेशमा ल्याउन लागेको हो । उनीहरूलाई भित्र्याउँदा यहाँका खेलप्रेमीलाई समेत पुराना नयाँ खेलाडीलाई नजिकबाट चिन्ने र बुझ्ने अवसर हुने वाग्लेको भनाइ छ ।

चार दिने भ्रमणका क्रममा खेलाडीलाई मोरङ, सुनसरी, झापा र इलाम जिल्लामा पर्यटन र खेल प्रवर्धनमा जोड मिल्नेगरी अघि बढाइनेछ तथा खेल पर्यटनसँगै श्रीअन्तु पर्यटकीय क्षेत्रलाई समेत पुनर्मिलन भ्रमण कार्यक्रमले थप उजागर गर्ने सदस्यसचिव वाग्लेले बताए ।

‘यसपटक बोर्डले एकैपटक ओलम्पियन्स खेलाडी, प्रदेशका खेलाडी र विभिन्न राष्ट्रका ओलम्पियन्स पदाधिकारीलाई भित्र्याउने जमर्को गरेको हो’, वाग्लेले भने, ‘हाम्रा खेलाडीसँगै यहाँको पर्यटन र खेललाई प्रवर्धन गर्नका लागि अन्य राष्ट्रका ओलम्पिक कमिटीका पदाधिकारीको समेत सहभागिता रहनेछ । खेल पर्यटनबाट प्रदेशलाई समेत विश्वस्तरमा विस्तार गर्न मद्दत गर्ने बुझाइ बोर्डको रहेको छ ।’

कार्यक्रमबारे नेपाल ओलम्पिक एसोसिएसनका अध्यक्ष दिपक विष्टले राष्ट्रिय गहनालाई बोर्डले पुनर्मिलन गराउन लागेकोमा हर्षित भएको बताए । अध्यक्ष विष्टले विभिन्न प्रतियोगितामा आफ्नो प्रतिभा प्रस्तुत गरिसकेका खेलाडीलाई फेरि एकै स्थान उभ्याउन प्रयास गरिरहेको बोर्डको काम सराहनीय रहेको उल्लेख गरे ।

नेपालले सन् १९६४ सालमा पहिलोपटक ओलम्पिकमा सहभागिता जनाएका खेलाडीदेखि हालसम्मका ओलम्पियन, ओलम्पिक एसोसिएसनका अध्यक्ष तथा पदाधिकारी, खेलाडी लगायतलाई खेलप्रेमीमाझ उतार्ने बोर्डले जनाएको छ ।

कोशी प्रदेशको खेलकुदसँगै आन्तरिक पर्यटन प्रवर्धनका लागि ओलम्पिकमा सहभागिता जनाएका खेलाडी तथा खेलकुदका चर्चित अनुहारलाई पुनर्मिलन गराउने कार्यक्रमको उद्घाटन प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गर्ने छन् । कार्यक्रममा करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer