२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

ओलम्पियन्स र सेलिब्रेटी खेलाडीलाई फिक्कलमा सम्मान


इलाम, बैशाख २२ । ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रमअन्तर्गत इलामको सूर्योदय नगरपालिकामा स्वागत तथा सम्मान गरिएको छ ।

इलाम जिल्ला खेलकुद विकास समिति र सूर्योदय नगरपालिकाले कन्याममा स्वागत तथा फिक्कलमा सम्मान गरेको हो ।

मोरङको विराटचोकमा तेस्रो ओलम्पियन रियुनियन सकेर इलाम आएका खेलाडीहरुलाई फिक्कल बजार परिक्रमा गराएर फेन्सोङ गुम्बा परिसरमा सम्मान गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बास्तोलाले जानकारी दिए ।

ओलम्पियन तथा सेलिब्रेटी खेलाडीहरुलाई सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले मायाको चिनो प्रदान गरेका थिए । पुनर्मिलन कार्यक्रम इटहरी, बिर्तामोड हुँदै इलामको सूर्योदय नगरपालिकास्थित फिक्कलमा पुगेर सम्पन्न भएको छ ।

कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा भएको कार्यक्रममालाई इलाममा सूर्योदय नगरपालिकाले व्यवस्थापन गरेको थियो । जिल्ला खेलकुद विकास मितिको विशेष पहलमा कन्याम, श्रीअन्तर र फिक्कलमा कार्यक्रम गरिएको अध्यक्ष बास्तोलाले बताए ।

कार्यक्रमका बीच १४ औँ राष्ट्रपति रनिङ शिल्डमा मेडल जित्ने सूर्योदय नगरपालिकाका खेलाडीहरुलाई सम्बन्धित खेलका केन्द्रीय पदाधिकारी र ओलम्पियनहरुको हातबाट सम्मान गरिएको थियो ।

कोशी प्रदेशको खेलकुदसँगै आन्तरिक पर्यटन प्रवर्धनका लागि ओलम्पिकमा सहभागिता जनाएका खेलाडी तथा खेलकुदका चर्चित अनुहारलाई पुनर्मिलन कार्यक्रममा ६० जना नेपाली ओलम्पियन्स खेलाडी, २५ जना प्रदेशभित्रका अनुभव र अभ्यासमा विशेष दख्खल राखेका चर्चित खेलाडीको सहभागिता रहेको छ ।

त्यस्तै, ओलम्पियन्स पुनर्मिलन कार्यक्रममा अस्ट्रिया, मलेसिया, सिंगापुर, बेलायतका छजना ओलम्पियनहरु समेत सहभागी थिए ।

नेपालका सन् १९६४ सालमा पहिलोपटक ओलम्पिकमा सहभागिता जनाएका नामसिंह थापा मगरदेखि हालसम्मका ओलम्पियन, ओलम्पिक एसोसिएसनका अध्यक्ष तथा पदाधिकारी, खेलाडी लगायत खेलाडी सहभागी थिए ।

एसोसिएसनका अध्यक्ष दिपक विष्टले कार्यक्रम संयोजनका लागि जिल्ला खेलकुद विकास समिति र सूर्योदय नगरपालिकालाई धन्यवाद ज्ञापन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer