बिर्तामोड, असोज ६ । मोरङको पथरीमा जारी प्रथम पथरीशनिश्चरे गोल्डकपमा झापा ११ एफसीले सानदार जित दर्ता गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
पथरी ११ एफसीले आयोजना गरेको गोल्डकपमा आइतबार दोस्रो क्वार्टर फाइनलमा धरान सिटी एफसीविरुद्ध झापा ११ ले ४–० गोलले जित निकालदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
झापा ११ का लागि प्रदिप बुढाथोकीले ह्याट्रिक पूरा गरे । उनले खेलको ९, ११ र ५२औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । प्रदिप प्लेयर अफ दि म्याच बने ।
झापाका लागि एक गोल अभिषेक गुरुङको नाममा रह्यो । पारस कार्कीले मिलाइदिएको पासमा अभिषेकले खेलको अतिरिक्त समयमा गोल गरेर ४–० गोलको फराकिलो अन्तरमा जित दर्ता गराए ।
हिजो भएको उद्घाटन खेलमा आयोजकले पाँचथर क्लबलाई २–१ गोलअन्तरमा जित दर्ता गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
विजेताले नगद ३ लाख तथा उपविजेताले नगद दुई लाखसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने मेला समिति अध्यक्ष सुमन विकले जानकारी दिए ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले नगद २५ हजार र अन्य विधागत उत्कृष्ट खेलाडीहरूले जनही १० हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले पाँच हजार प्राप्त गर्नेछन् ।