बिर्तामोड, असोज ७ । झापाको बिर्तामोड-२ सोमबारेमा आजबाट सुरु हुने जिल्लास्तरीय ‘सोमबारे फुटबल प्रतियोगिता’ को उद्घाटन खेलमा राजगढ एफसी र शनिश्चरे एफसी खेल्दै छन् ।
त्यस्तै, आज हुने दोस्रो खेलमा बिर्तामोड युनाइटेडले झिलझिले युवा परिवारसँग प्रतिस्पर्धा गर्दैछ ।
बडादसैँको उपलक्ष्यमा आयोजना हुने फुटबल प्रतियोगितामा झापाका १२ वटा टिमको सहभागिता रहेको क्लबका अध्यक्ष उमेश राईले जानकारी दिए ।
पहिलोपटक प्रतियोगिता गर्न लागेको आयोजक योङ स्टार फुटबल क्लब बिर्तामोड–२ ले सोमबारे आसपास सजाउनुका साथै स्वागत गेट पनि बनाएको छ ।
जिल्लास्तरीय ‘सोमबारे फुटबल प्रतियोगिता’ को फाइनल खेल असोज १३ गते हुने आयोजक संस्थाका सचिव माधव खरेलले जानकारी दिए ।
खेल क्षेत्रको प्रवर्धन र सामाजिक क्षेत्रअन्तर्गत सोमबारे क्षेत्रमा पर्ने करिब १८०० मिटर सडकमा रहेको बिजुली पोलहरुमा सडकबत्ती जडान गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्षले राईले बताए ।
प्रतियोगिता सम्पन्न गर्न लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको र प्रतियोगिताको लागि ४ लाख रुपैयाँभन्दा बढी रकम प्राप्त भइसकेको सचिव खरेलले बताए ।
सोमबारे क्षेत्रमा बसोबास गर्ने हाल वैदेशिक रोजगारीमा रहेका युवाहरुले पठाएको आर्थिक सहयोगले प्रतियोगिता सुरु हुन लागेको हो ।
खरेलका अनुसार आयोजक, शनिश्चरे, राजगढ, अर्जुनधारा, जलथल, कनकाई, सैनिक बजार, शिवशताक्षी, चन्द्रगढी, घैलाडुब्बा, बुट्टाबारी र बिर्तामोडका क्लबहरुको सहभागिता रहनेछ ।
प्रतियोगिताका विजेताले ५१ हजार र उपविजेताले २५ हजार ५०० रुपैयाँसहित प्रमाणपत्र र ट्रफी मेडल प्राप्त गर्ने छन् । अन्य छवटा विधागत पुरस्कार पनि दिइने अध्यक्ष राईले बताए ।