बिर्तामोड, असोज १६ । झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडा फुटबल प्रतियोगितामा वडा नम्बर ६ ले विजयी सुरुवात गरेको छ ।
आज भएको उद्घाटन खेलमा वडा नम्बर १० लाई २-१ गोल अन्तरले हराउँदै वडा नम्बर ६ क्वार्टर फाइनल प्रवेश गरेको हो ।
खेलको ४७ औँ ५४ औँ मिनेटमा नितेश तामाङले वडा नम्बर ६ का लागि गोल गरे भने खेलको ५७ औँ मिनेटमा उत्सव राईले वडा नम्बर १० का लागि सन्त्वाना गोल फर्काए ।
खेलको प्लेयर अफद म्याच दुई गोलकर्ता तामाङ भए । उनले नगद २ हजार र ट्रफी पाए ।
यसअघि भएको वडास्तरीय भेट्रान खेलमा वडा नम्बर १० ले वडा नम्बर ६ लाई १-० गोल अन्तरले हरायो ।
समितिका अध्यक्ष विकास गिरीको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन बिर्तामोड नगरप्रमुख पवित्रादेवी महताराले गरेकी थिइन् ।
कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, नेपाल बक्सिङ संघका उपाध्यक्ष भोजराज सिटौला, झापा गोल्डकपका उपाध्यक्ष सुवास भट्टराई लगायतले शुभकामना व्यक्त गरेका थिए ।
समितिका सचिव विसन लिम्बूले सञ्चालन गरेको कार्यक्रममा स्वागत सदस्य रमेश उप्रेतीले गरेका थिए ।
पाँचौँ संस्करणको प्रतियोगिता सैनिक बजारमा रहेको महेन्द्रज्योति माविको खेल मैदानमा जारी छ ।
प्रतियोगिताको विजेताले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक सन्तोष गरुङले बताए ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार र ट्रफी पाउँदा प्रत्येक खेलका प्लेयर अफ द म्याचले नगद दुई हजार र ट्रफी पाउने छन् ।
विधागत रुपमा उत्कृष्ट गोलकिप्पर, डिफेन्डर, मिडफिल्डर र फरवार्डले नगद पाँच हजार र ट्रफी पाउने सदस्य विशाल अग्रवालले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्न आठ लाख ४६ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको समितिले जनाएको छ ।