
बिर्तामोड, मंसिर ६ । झापाको बाह्रदशी र हल्दिबारीमा अदुवा खोला सिँचाइ आयोजनामा कीर्ते हस्ताक्षर गरेर संस्थाका अध्यक्षसहित तीनजनाले १७ लाख ५४ हजार रुपैयाँ चलाएको आरोप लागेको छ ।
करिब ६७५ हेक्टरमा सिँचाइ गर्ने उक्त आयोजनाको खातामा रहेको रुपैयाँ कार्यसमितिका अध्यक्ष बृखबहादुर थापा (दिनेश), सचिव प्रकाश पाठक र कोषाध्यक्ष लोकनाथ ओलीले मिलेमतोमा चलाएको उपभोक्ताहरुले आरोप लगाएका हुन् ।
संस्थाको खातामा मौज्दात रहेको रकम कार्यसमितिलाई थाहै नदिई तीनजनाले चलाएको पाइएको छ । खातामा रहेको १७ लाख ५४ हजार रुपैयाँ अपचलन गर्ने नियतले निकालेको उनीहरुलाई आरोप छ ।
कार्यसमितिका धेरै सदस्यहरुको हस्ताक्षर नै कीर्ते गरेर उक्त रकम निकासा गर्ने निर्णय भेटिएको संस्थाका पूर्वअध्यक्ष रत्नबहादुर अधिकारी बताउँछन् । उनै पूर्वअध्यक्ष अधिकारीले खाताबाट पैसा झिकेर चलाइसकेको पत्ता लगाएका थिए ।
उपभोक्ताहरुले कीर्ते हस्ताक्षर गरेर पैसा चलाएको विषय थाहा पाएपछि उनीहरुले केही दिन अघि बैंकमा सो रकम जम्मा गरिसकेको बुझिएको छ ।
संस्थाका उपाध्यक्ष रोमनाथ दाहालले त्यस्तो निर्णयमा आफूले हस्ताक्षर नगरेको र पैसा निकालेको विषय पछि थाहा पाएको बताए ।
उपाध्यक्ष दाहाललाई गत कात्तिक २७ गते अध्यक्ष थापाले सम्पर्क गरेर ‘मिलाएर साधारणसभा’ सकिदिन भनेका थिए । उक्त प्रस्तावको ठाडै प्रतिवाद गरेको दाहालले बताएका छन् ।
अध्यक्षसहित तीन जनाले साढे १७ लाख अपचलन गरेको चर्चा चुलिएपछि तत्कालै साधारणसभाबाट उक्त विषयलाई सामसुम बनाउने प्रयास भएको बुझिएको छ ।
संस्थाका सचिव पाठकले २७ गतेका दिन साधारणसभाको चिठी बाँडेको केही उपभोक्ताहरुले जानकारी दिए । संस्थाका कोषाध्यक्ष लोकनाथ ओलीले आफूले हस्ताक्षर गरेर पैसा निकालेको स्वीकार गरेका छन् ।
अध्यक्षले आफ्नो भाइलाई विदेश पठाउनका लागि पैसा चलाएको उनको भनाइ छ । उनले आफूले हस्ताक्षर गरेकोभन्दा धेरै पैसा निकालिएको भन्दै त्यसबारे अनविज्ञता प्रकट गरेका छन् । उनी आफूले पनि २ लाख रुपैयाँ चलाएको स्वीकार गरे ।
संस्थाका सचिव प्रकाश पाठकले कीर्ते हस्ताक्षर भएको विषयबारे थाहा नभएको बताए । कोषाध्यक्ष ओलीले भने सचिवको नाममा ५ लाखको चेक काटेर पैसा निकालेको बताएका छन् । सचिव पाठकले आफूले सो रकम नचलाएको दाबी गरे ।
‘संस्थाको पैसा व्यक्तिगत प्रयोजनमा जानु बेठिक हो’, उनले भने, ‘प्राविधिक हिसाबले मैले चलाएको देखिन्छ ।’ संस्थाका अध्यक्ष थापा भर्खरै नेपाल फर्किएका छन् । उनले संस्थाको रकम चलाएको स्वीकार गरिसकेका छन् ।
तर, उनले भने १० लाख ५४ हजार रुपैयाँ मात्र तीनजनाले चलाएको दाबी गरे । ‘संस्थाको रकम मैले मात्र चलाएको होइन, सचिव र कोषाध्यक्षले समेत चलाएका छन्’, उनले भने, ‘सचिव प्रकाश पाठकले भाइलाई अष्टे«लिया पठाउने बेला पैसा चलाएका हुन् ।’
किर्ते हस्ताक्षरको लागि सचिव नै जिम्मेवार हुने अध्यक्ष थापाको भनाइ छ । निर्णय पुस्तिकमा अध्यक्ष, सचिव र कोषाध्यक्षबाहेक अधिकांशको हस्ताक्षर किर्ते भएको प्रमाण भेटिएको छ ।