बिर्तामोड, मंसिर १२ । झापा प्रहरीले झापाको कनकाईमा गौहत्यामा संलग्न भएको आरोपमा थप तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाह्रदशी-४ बस्ने ३९ वर्षीया कुरेसा खातुन, किसनगञ्ज भारत घर भई हाल कनकाई-३ बस्ने २० वर्षीय दिलवर हुसेन र उनकी श्रीमती १९ वर्षीया महिदा खातुन रहेका छन् । यसअघि प्रहरीले कुरेसाका पति ४६ वर्षीय बुधन आलमलाई पक्राउ गरेको थियो ।
प्रहरीले आलमलाई बाह्रदशी-४ बाट तथा कुरेसा खातुन, दिलवर हुसेन र महिदा खातुनलाई भद्रपुर ५ मेचीपुलबाट भारततर्फ भागिरहेको अवस्थामा पक्राउ गरेको हो ।
उनीहरुले कनकाई-३ टप्पुबस्ती पूर्वमा मंगलबार गाई चोरेर काटेका थिए । घटनामा अरुको पनि संलग्नता हुनसक्ने भएकाले प्रहरीले अनुसन्धान गरिरहेको थियो ।
स्थानीय लीला संग्रौलाको इँटाको गारो र टिनको छानो भएको घर भाडा लिएर बसेका आलमले आफू बसेको घरमा लगेर गाई काटेका थिए ।
उनले हरिकुल स्कुलनजिकबाट दुर्गा सिलवालको लैनो गाई राति चोरेर लगेको बताइएको छ । उनले राति नै गाई काटेको अनुमान गरिएको छ । केही महिनाअघि दमकमा गर्भिनी गाई हत्या गरिएको थियो ।
घटनापछि गाई काट्नेलाई पक्राउ गरी कारबाहीको माग गर्दै प्रदर्शनकारीले कोटिहोम क्षेत्रको पूर्वपश्चिम राजमार्ग अवरुद्ध बनाएका थिए ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीले आज झापा जिल्ला अदालतबाट पशुपंक्षी सम्बन्धी ऐन (गाई गोरु मार्न नहुने) कसुरमा पाँच दिन म्याद थप गरी सो सम्बन्धमा गरिरहेको जनाएको छ ।