मेचीनगर, मंसिर १६ । ललितपुरका एकजना घरजग्गा व्यवसायी झापाको काँकरभिट्टास्थित होटलबाटै सम्पर्कविहीन भएका छन् ।
घरजग्गा कारोबार गर्दै आएका महाँकाल-२ मानिखेल घर भएका व्यवसायी ४० वर्षीय दिलनाथ बजगाईं काँकडभिट्टास्थित न्यु हिकोला हेरिटेज होटलमा बस्दै आएका थिए ।
काठमाडौँमा बस्दै आएका उनी कात्तिक २९ गतेदेखि सम्पर्कविहीन भएको परिवारले जनाएको छ । बजगाईं व्यापारको सिलसिलामा होटलमा रहँदै आएको र त्यहीँबाट सम्पर्कविहीन भएको जनाइएको छ ।
कात्तिक २९ गते श्रीमती तुलसासँग फेसबुकमा कुरा गरेका उनी त्यसपछि सम्पर्कविहीन छन् । उनको खोजबिनका लागि श्रीमती तुलसा र दाजु गणेशप्रसाद मंसिर ४ गतेदेखि काँकरभिट्टामा छन् ।
बजगाईंले कात्तिक ३० गते भारतको गोवा जाने हवाई टिकट गरेका थिए । तर, गोवा जाने टिकट रद्द भएको देखिन्छ ।
बजगाईं बेपत्ताबारे परिवारले इलाका प्रहरी कार्यालय काँकरभिट्टामा निवेदन दिएको छ । प्रहरीले सूक्ष्म रुपमा अनुसन्धान गरिरहेको जनाएको छ ।