बिर्तामोड, मंसिर १६ । झापाका विभिन्न स्थानमा हिजो राति आगलागी हुँदा २० लाख रुपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
हिजो साँझ पौने सात बजे झापा-७ रमितेटोलका लुखी हस्दाको घरमा विद्युत सर्ट भई आगलागी हुँदा टिनको छानो र बाँसको टाटीबेराले बनेको ३ कोठे घरमा रहेको सम्पूर्ण सामानहरु र नजिकै रहेको ग्वाली गोठ जलेर नष्ट भएको छ ।
आगलागीबाट दुई लाख ५० हजार रुपैयााबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यस्तै, हिजो राति १० बजे अर्जुनधारा-११ सालबारीका भूमिनाथ बरालको र अमर राउतको एक बिघाको धानको कुन्यूमा आगलागी हुँदा दुई लाख १० हजार रुपैयाँबराबरको क्षति भएको छ ।
त्यस्तै, आज राति सवा १२ बजे दमक-१ रवि स्ट्यान्डका शिव राईको पक्की घरको भुइँ तलामा विद्युत सर्ट भई आगलागी हुँदा १५ लाख रुपैयाँको क्षति भएको छ ।
त्यहाँ रहेको रामकिशोर शाहको किराना, कस्मेटिक र खाद्यान्न पसलमा करेन्ट सर्ट भई आगलागी हुँदा किराना सामान, कस्मेटिक सामान, खाद्यान्न सामान, झ्याल, ढोका, फ्रिज र अन्य सामानहरु समेत जलेर नष्ट भएको छ ।