२०८२ असार २५ बुधबार
Jhapa Today
Adv top

पूर्व नगरप्रमुख शिवाकोटीले घरमा काम गर्ने किशोरीमाथि करणी गरेको बयान


बिर्तामोड, मंसिर २४ । जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका बिर्तामोडका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले आफ्नै घरमा काम गर्ने किशोरीमाथि पटकपटक करणी गरेको प्रहरीले जनाएको छ ।

शिवाकोटीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले आज सोमबार पक्राउ गरी अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनी बुझाएको छ ।

करिब ८ वर्षदेखि शिवाकोटीको बिर्तामोड-५ मा रहेको घरमा घरेलु कामदारका रुपमा काम गर्दै आएकी १७ वर्षीया किशोरीलाई शिवाकोटीले पटकपटक करणी गरेको प्रहरीसँगको बयानमा खुलेको छ ।

बुवाको मृत्यु भएपछि उनी बिर्तामोडस्थित एक आफन्तकहाँ बस्दै आएकी थिइन् । शिवाकोटीका टाढाका आफन्त पर्नेका घरमा बस्दै आएकी किशोरीलाई शिवाकोटीले ‘नातिको साथी’ हुने भन्दै आफूले घरमा राखेर पढाउने भन्दै मागेका थिए ।

बुवाको मृत्यु भएपछि काँकरभिट्टामा रहेका आफन्तकहाँ बस्दै आएकी उनकी आमाले पनि दोस्रो विवाह गरेकी छन् । दोस्रो विवाह गरेर पीडितकी आमा भारतको आसाममा बस्दै आएकी छन् ।

अभिभावकविहीन किशोरी र उनका दाजु काँकरभिट्टामा रहेको आफन्तको आश्रयमा थिए । पीडितका दाजु काँकरभिट्टामा नै बस्न थाले भने उनी बिर्तामोडमा बस्न थालिन् । सोही समयमा शिवाकोटीले उनलाई घरमा राखेर अध्ययनको व्यवस्था मिलाउने भन्दै लगेका बुझिएको छ ।

स्थानीय एक विद्यालयमा ११ कक्षामा अध्ययनरत रहेकी उनलाई शिवाकोटीले पटकपटक करणी गरेको बताइएको छ । शिवाकोटीको शारीरिक शोषण सहन नसकेकी उनी भागेर भारतको आसाम जान लागेकी थिइन् ।

काँकरभिट्टा गेटमा शंकास्पद रुपमा भारत जान लागेकी उनलाई आफन्त नेपालका प्रतिनिधिले रोकेर सोधपुछ गरेका थिए । स्कुल ड्रेसमा रहेकी उनी फेरि त्यही घरमा जानुपर्छ भनेर अतालिएकी थिइन् ।

फकाएर सोधखोज गर्दा शिवाकोटीको कर्तुतका बारेमा उनले सार्वजनिक गरेको एक कर्मचारीले जानकारी दिए । सोधपुछका क्रममा पूर्व नगरप्रमुख शिवाकोटीको जबरजस्ती करणी गर्ने गरेका कारण नेपालमा बस्न नसकेको प्रतिक्रिया दिएकी थिइन् ।

त्यसपछि प्रहरीले शिवाकोटीलाई नियन्त्रणमा लिएको हो । शिवाकोटी हाल इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा छन् ।

Adv footer