बिर्तामोड, मंसिर २८ । स्रोत नखुलेको ठुलो मात्रामा अमेरीकन डलरसहित झापा गौरादहका एक व्यक्ति पक्राउ परेका छन् ।
बिहीबार दिउँसो २ बजे दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ९५३० नम्बरको बसमा रहेका गौरादह-५ बस्ने २५ वर्षीय मोहम्मद नौसाद मिया अमेरिकन डलरसहित पक्राउ परेका हुन् ।
मियाले बोकेको कालो झोला जाँच गर्दा स्रोत नखुलेको अमेरिकन डलर १०० दरका २९७ थान २९,७०० (बिहीबारको नेपाली दररेट १ डलरको १३५.८२ अनुसार रु.४०,३३,८५४) भेटिएको हो ।
उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव उपरीक्षक निशान थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले कमल–३ केर्खा चोकस्थित पूर्वपश्चिम राजमार्गमा सवारी साधन जाँच गर्ने क्रममा मिया पक्राउ परेका हुन् ।