
दमक, पुस १७ । झापामा अण्डाको प्रयोग बढाउन अण्डा उत्पादक संघ झापाले विद्यार्थीहरुलाई अण्डासहितको खाजा निःशुल्क खुवाउने कार्यक्रम सुरु गरेको छ ।

स्थानीय सरकारले विद्यालय खाजामा अण्डाको प्रयोगलाइ प्राथमिकता दिए आफूहरूले सुलभ दरमा अण्डा उपलब्ध गराउने संघले जनाएको छ । एक कार्यक्रमबीच संघले उत्तरी क्षेत्रमा पर्ने दुम्सेमा रहेको चुलाचुली माध्यमिक विद्यालयका करिब पाँच सय विद्यार्थीलाई अण्डा र चनाको खाजा वितरण गरेको हो ।

संघले पुस १६ गतेदेखि सुरू गरेको अण्डाको उपयोगमा प्रोत्साहन कार्यक्रम विभिन्न ठाउँमा तीन दिनसम्म सञ्चालन गर्ने संघका प्रतिनिधि दमक एग्रिकल्चरका सञ्चालक देवेन्द्र प्रसाईंले बताए ।

पुस १८ गते मनाइने १२औँ राष्ट्रिय पोल्ट्री दिवसको सन्दर्भ पारेर विभिन्न स्वास्थ्य चेतना र मानव स्वास्थ्यका लागि अण्डाको महत्व दर्शाउँदै दिवस मनाइने संघका अध्यक्ष भरत चौँलागाईंले जानकारी दिए ।


अण्डा उत्पादनलाई गुणस्तरीय, स्वास्थ प्रतिस्पर्धात्मक बनाउन र व्यवसायलाई निरन्तरताका लागि सरकारले भारतसँगको खुला सीमाबाट हुने आयातलाई रोक्नुपर्ने नेपाली उत्पादकले माग गरेका छन् ।

घट्दै उत्पादक
आर्थिक मन्दिका कारण अण्डा लक्षित लेयर्स कुखुरा पाल्ने किसानको संख्या निक्कै घटेको संघले जनाएको छ । झापामा १०० भन्दा बढी व्यावसायिक कुखुरा पालक किसान रहेकोमा अहिले सो संख्या आधाभन्दा धेरै घटेको छ ।
झापामा दैनिक १ लाख ८० हजार हाराहारीमा अण्डा उत्पादन हुँदै आएको संघले जनाएको छ । नेपाल लेयर्स कुखुरापालक संघका केन्द्रीय सल्लाहकार माधवप्रसाद पराजुलीले अण्डाको प्रयोग बढाउन प्रोत्साहित गर्ने कार्यक्रमहरु चलाइएको बताए ।





