२०८३ बैशाख ३० बुधबार
Jhapa Today
Adv top

लागुऔषध कारोबार गर्ने झापाका राईसहित १० जना पक्राउ


बिर्तामोड, बैशाख ३० । प्रहरीले झापा बिर्तामोडका एकजनासहित १० जनालाई लागुऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर तथा मातहत शाखा कार्यालयहरूले विभिन्न स्थानबाट खैरो हेरोइनसहित १० जनालाई पक्राउ गरेको हो ।

बैशाख २८ गतेदेखि २९ गतेसम्म काठमाडौँ, पोखरा, नेपालगञ्ज र सुर्खेतबाट लागुऔषध कारोबारमा संलग्न १० जनालाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरूबाट कुल ५५० ग्राम खैरो हेरोइन, डिजिटल तराजु थान १ तथा नगद १६ लाख ६३ हजार ५५० रुपैयाँ बरामद गरिएको जनाएको छ ।

कोटेश्वरबाट ४१ ग्राम खैरो हेरोइनसहित भोजपुर हतुवागढी गाउँपालिका–१ का ३१ वर्षीय भरत ओबेदवा, दोलखा मेलुङ गाउँपालिका–२ का ३६ वर्षीय गोपी कटुवाल र भारत बिहार भागलपुर थाना सझौर बस्ने ३४ वर्षीय मंगल राम पक्राउ परेका छन् ।

शाखा कार्यालय धनकोट र प्रहरी वृत्त धनकोटको संयुक्त टोलीले १९७ ग्राम खैरो हेरोइनसहित झापा बिर्तामोड नगरपालिका–४ का २८ वर्षीय गंगा राई र सिन्धुपाल्चोक बलेफी गाउँपालिका–६ का २६ वर्षीय गौतम केसीलाई पक्राउ गरेको जनाएको छ ।

नेपालगञ्ज शाखाले २८० ग्राम खैरो हेरोइनसहित भारत उत्तरप्रदेश लखिमपुर खिरी थाना टिकुनिया ग्राम बस्ने ३५ वर्षीय तेजेन्द्र कुमार र २० वर्षीय विजय सिंहलाई नियन्त्रणमा लिएको छ ।

पोखराबाट ३० ग्राम खैरो हेरोइन, डिजिटल तराजु र नगद ११ लाख ४८ हजार रुपैयाँसहित हाल कास्की पोखरा महानगरपालिका–२१ बस्ने रौतहटका २२ वर्षीय रविना खातुन पक्राउ परेकी छन् ।

सुर्खेत शाखाले ३ ग्राम खैरो हेरोइन र नगद ५ लाख १५ हजार ५५० रुपैयाँसहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१४ का २० वर्षीय प्रशान्त सुनार र वीरेन्द्रनगर–३ का ४८ वर्षीय एकेन्द्रबहादुर सुनारलाई पक्राउ गरेको जनाएको छ ।

Adv footer