
बिर्तामोड, पुस १७ । झापाको बिर्तामोड-५ मा रहेको देवी माध्यमिक विद्यालयले ६२ औँ वार्षिकोत्सवको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।

विद्यालयको वार्षिकोत्सवको अवसरमा विभिन्न १२५ विधामा एक हजार ६०० विद्यार्थीले सहभागिता जनाएका थिए । जसमा प्रथम, द्वितीय र तृतीय ७३५ विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको विद्यालयका सहायक प्रधानाध्यापक लीलाप्रसाद भण्डारीले जानकारी दिए ।

बुधबार भएको सांस्कृतिक कार्यक्रममा विभिन्न जातजाति र भाषाभाषीका नृत्य र विद्यार्थीका गायन प्रतियोगितामा राखिएका थिए । बालविकास, कक्षा–१ देखि १२ सम्मका विद्यार्थीहरु सहभागी भएको उक्त नृत्य तथा गायन प्रतियोगिताको निर्णायकको रुपमा नृत्य प्रशिक्षक लोकचन्द्र श्रेष्ठ र महेश्वरी शर्मा बास्कोटा रहेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक युवराज ढकालले गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक अम्बिका श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पुस ११ गतेदेखि १६ गतेसम्म भएका खेलकुद तथा अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण गरिएको थियो ।

पुस १९ गते विद्यालयको स्थापना दिवस मनाउन लागेको विद्यालयले पुस १८ गते ५ किलोमिटरको दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।

अर्जुनधारास्थित शनिश्चरे चोकबाट सुरु हुने उक्त दौडको उद्घाटन प्रदेशसभा सदस्य तिलचन पाठक (चिन्तन) ले गर्ने विद्यालयका कक्षा–११/१२ संयोजक उमेशकुमार साहुले जानकारी दिए ।
विद्यालयका विद्यार्थीहरु सहभागी हुने उक्त दौड शनिश्चरे रोड हुँदै देवी माध्यमिक विद्यालयमा आएर समापन गरिने विद्यालयले जनाएको छ । साथै, कक्षा–११ मा अध्ययन गरिरहेको विद्यार्थीहरुलाई सोही दिन एक कार्यक्रमका बीच स्वागत गरिने कक्षा–११/१२ का शिक्षा समूह संयोजक गोविन्दप्रसाद न्यौपानेले बताए ।





