बिर्तामोड, पुस १९ । घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्वनगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई आज अदालतमा पेश गरिने भएको छ ।
उनी करिब एक महिनादेखि बिएन्डसी अस्पतालमा रहेका थिए । सरकारी वकिलको कार्यालयले आज उनलाई अदालतमा बुझाउने भएको हो ।
आफूहरुले सरकारी वकिलको कार्यालयलाई बुधबार मुद्दा बुझाइसकेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रकाश विष्टले बताए । अस्पतालमा रहेकै बेला शिवाकोटीसँगको बयान लिएर प्रहरीले अनुसन्धान पूरा गरेको जनाएको छ ।
सरकारी वकिलको कार्यालयले आज अभियोजन पत्र बुझाएको खण्डमा आइतबार मात्र मुद्दाको सुनुवाई हुने झापा जिल्ला अदालतका श्रेस्तेदार किरणकुमार सिंहले जानकारी दिए ।
घरेलु कामदारको रूपमा राखिएकी नाबालिकालाई करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ परेकै दिनदेखि बिएन्डसी अस्पतालमा राखेको छ । स्वास्थ्यमा समस्या भएको देखिएपछि शिवाकोटीलाई अस्पतालमा भर्ना गरिएको थियो ।
प्रहरीले उनलाई गत मंसिर २४ गते पक्राउ गरेको थियो । उनीमाथि अनुसन्धान गर्न प्रहरीले चार र पाँच दिनको पाँचपटक म्याद थप गरेको थियो ।
Comments are closed