बिर्तामोड, पुस २२ । झापाको बिर्तामोडमा मोटरसाइकलले ठक्कर दिएर घाइते भएका एकजनाको भोलिपल्ट घरमै मृत्यु भएको छ ।
शनिबार साँझ ६ः३० बजे बिर्तामोड-८ को सुकुमबासी टोल जाने भित्री सडकखण्डमा बा. ७५ प ९११५ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँका ५३ वर्षीय चित्रहाङ श्रेष्ठ घाइते भएका थिए ।
दुर्घटनापछि दुवै पक्षको सहमतिमा उपचारको लागि कहीँकतै नगई श्रेष्ठ घरतर्फ गएको भनी बुझिएको छ । आइतबार बिहान आफ्नै घरको सुत्ने कोठामा सुतिरहेको अवस्था उनी मृत भेटिएका थिए ।
दुर्घटना गराउने मोटरसाइकल र मोटरसाइकल चालक बिर्तामोड-८ बस्ने २५ वर्षीय बुद्ध बस्नेतलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।
यसैबीच, प्रादेशिक अस्पताल भद्रपुरले घाइते श्रेष्ठको निमोनियाका कारण मृत्यु भएको रिपोर्ट दिएपछि मृतकका आफन्तहरु आक्रोशित भएका छन् । उनीहरुले सही रिपोर्ट नदिएसम्म शव नबुझ्ने अडान लिएका छन् ।
चिकित्सकले पूर्णरुपमा जाँच नगरी सो रिपोर्ट दिएको हुनसक्ने भन्दै अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डक्टर रामबाबु खड्काले दुर्घटनाबाट मृत्यु भएको रिपोर्ट प्रहरीलाई उपलब्ध गराइने जानकारी दिए । श्रेष्ठको टाउकोमा चोट लागेको देखिएको छ ।
Comments are closed