बिर्तामोड, पुस २२ । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्वनगरप्रमुख ध्रुवकुमार शिवाकोटीसँग झापा जिल्ला अदालतमा बयान लिइएको छ ।
हिजो दिउँसो करिब ३ घण्टा शिवाकोटीसँग बयान लिइएको हो । उनीविरुद्ध शुक्रबार झापा जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको थियो ।
हिजो बयानमा नै समय सकिएकाले थुनछेक बहस हुन पाएन । आजदेखि बहस सुरु हुने जनाइएको छ । शिवाकोटीको पक्षमा अशोक पोखरेल, गजेन्द्र आचार्य, टंक उप्रेतीजस्ता कानुन व्यवसायीहरूले बहस गर्न लागेका छन् ।
घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया नाबालिकालाई करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ परेकै दिनदेखि बिएण्डसी अस्पतालमा राखेको छ ।
स्वास्थ्यमा समस्या भएको देखिएपछि शिवाकोटीलाई अस्पतालमा भर्ना गरिएको थियो । प्रहरीले उनलाई गत मंसिर २४ गते पक्राउ गरेको थियो ।
Comments are closed