बिर्तामोड, पुस २३ । नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्वनगरप्रमुख ध्रुवकुमार शिवाकोटी कारागार चलान भएका छन् ।
घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उनी गत मंसिर २४ गते पक्राउ परेका थिए ।
तर, शिवाकोटी कारागार नगएर पुनः बिएन्डसी अस्पतालमै भर्ना भएका छन् । उनी पक्राउ परेको दिनदेखि नै अस्पतालमा छन् । झापा जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिँदा पनि कारागार बस्नु परेको छैन ।
हिजो भएको थुनछेक बहसपछि न्यायाधीश नवीनकुमार जोशीको इजलासले शिवाकोटीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
बिर्तामोड प्रहरीले अदालतसँग पाँचपटक म्याद थपेर २५ दिनसम्म अनुसन्धान गर्दा उनले एक दिन पनि हिरासतमा बस्नु परेन । बिएन्डसी अस्पतालबाटै उनलाई अदालत लगिन्थ्यो र अदालतबाट सिधै अस्पताल भर्ना गरिन्थ्यो ।
प्रहरीले अनुसन्धान सकाएर सरकारी वकिलको कार्यालयलाई मुद्दा जिम्मा लगाउँदा, सरकारी वकिल कार्यालयले अदालतमा अभियोग पत्र दर्ता गराउँदा र अदालतले बयान लिइसक्दा पनि उनले हिरासतमा बस्नु परेन ।
अदालतको पत्र बमोजिम केही मेडिकल जाँच गर्नुपर्ने भनिएकाले अस्पतालमा भर्ना गरिएको झापा कारागारका प्रमुख रेवन्त भट्टराईले झापा टुडेलाई जानकारी दिए ।
शिवाकोटीले आफूलाई गाह्रो भइरहेको बताएपछि कारागारबाट अस्पताल पठाइएको कारागार प्रमुख भट्टराईको भनाइ छ । शिवाकोटीले आफ्नो ढाडको समस्या भएको बताएका छन् ।
शिवाकोटीको स्वास्थ्य अवस्थालाई ख्याल गरी स्वास्थ्य उपचारको व्यवस्था गर्न न्यायाधीशको आदेशअनुसार झापा कारागार प्रशासनलाई पत्र पठाइएको हो ।
Comments are closed