बिर्तामोड, माघ १ । माघे संक्रान्तिको अवसरमा लागेको झापाको कनकाई माई मेला जुवाको अखडा बनेको छ । कनकाई नदीपूर्व कोटिहोम र पश्चिमपट्टि माईधारमा तीन दिनदेखि लागेको माईमेलामा जुवा र जुवाजन्य खेल खेलाउने गरिएको हो ।
जुवा र जुवाजन्य खेल खेलाउनकै लागि मेला लगाउने आयोजक समितिको उद्देश्य देखिएको छ । मेलामा जुवा तास, डाइस, सिक्सरलगायतका अवैध खेल खेलाउने गरेको पाइएको हो ।
खुलेआम रुपमा जुवा खेलाउने गरेपछि प्रहरीले गए राति जुवाको अखडामा छापा मारेको थियो । राति जुवा र जुवाजन्य खेलहरु बन्द गराइएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी निशान थापा मगरले बताए । उनले मेलाको नाममा अवैध खेल खेलाउन नमिल्ने भन्दै त्यस्ता खेल नखेल्न भनिएको जानकारी दिए ।
शिवसताक्षी–१० माईधारमा त्यहाँका वडा अध्यक्ष हर्कबहादुर सिगुकै अगुवाईमा वडा कार्यालयले मेला आयोजना गरेको हो । वडा अध्यक्ष सिगु नै जुवा खेलाउन पाउनुपर्छ भन्ने पक्षमा रहेको बताइएको छ ।
जुवाबिना मेला नलाग्ने र मेलामा आम्दानी पनि नहुने आयोजक समितिको तर्क छ । प्रायः सबैजनाको भनाइ जुवाजन्य खेल खेलाउन पाउनुपर्छ भन्ने रहेको एक प्रहरी अधिकृतले बताए ।
राति नै कनकाईपूर्व कोटिहोममा लागेको मेलामा पनि प्रहरीले जुवाजन्य खेल बन्द गराएको छ । राति १ बजेसम्म खटिएर त्यहाँका जुवाजन्य खेल बन्द गराइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रकाश विष्टले बताए ।
कोटिहोममा कनकाई धार्मिक माई मेला समितिले मेला लगाएको हो । जुवा र जुवाजन्य खेल खेलाउनका लागि कनकाईमा ७ दिने मेला लगाइएको हो ।
जुवा खेल्न दिनुपर्यो भनेर उपल्लो निकायबाट फोन गर्न लगाएको नाम उल्लेख नगर्ने शर्तमा ती प्रहरी अधिकृतले भने । मेला भनेको जुवा र जुवाजन्य खेल खेलाउने ठाउँ भन्ने मानसिकता भेटिएको उनको भनाइ छ ।
गत पुस २७ गते शनिबार उद्घाटन गरिएको मेला माघ ३ गतेसम्म लाग्नेछ । यस किसिमका विकृतिका कारण मकर स्नान गर्न आउने कनकाई धार्मिक मेलाको महत्व घट्दै गएको छ ।
Comments are closed