
बिर्तामोड, चैत २२ । झापाको अर्जुनधारा-२ मा आज बिहान आगलागी हुँदा घरधनी सामान्य घाइते भएका छन् भने साढे ७ लाख रुपैयाँबराबरको भौतिक क्षति भएको छ ।

बिहान करिब ३ः३० बजेतिर कुलचन्द्र पोखरेलको टिनको छानो भएको एकतले ग्वालीमा विद्युत सर्ट भई आगलागी हुँदा पोखरेलको अनुहार सामान्य जलेको छ ।

उनलाई उपचारका लागि बिएन्डसी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा घरधनी पोखरेललाई जलन भएको हो । आगलागीबाट गाईको एउटा बाछो जलेर मरेको छ ।

ग्वाली र ग्वालीभित्र रहेका आलु, धान, दाउरा, कुटी काट्ने मेसिन र छेउमा रहेको परालको कुन्यू जलेर नष्ट हुँदा ७ लाख ५० हजारबराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रकाश विष्टले जानकारी दिए ।
प्रहरी चौकी खुदुनावारी र सशस्त्र प्रहरी बेस क्याम्प खुदुनाबारीको प्रहरी टोली, बिर्तामोड र मेचीनगर नगरपालिकाको दमकल तथा स्थानीयको सहयोगमा बिहान ५ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।






