
बिर्तामोड, चैत २२ । बिर्तामोडमा रहेको यातायात व्यवस्था कार्यालय झापाबाट प्रहरीको विशेष टोलीले बिचौलियालाई नियन्त्रणमा लिएको जनाएको छ ।

बिचौलियाका कारण सेवाग्रहीले दुःख पाएको जनगुनासो सञ्चारमाध्यममा प्रकाशन प्रशारण भएपछि आज जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त प्रहरीको टोलीले नौजना बिचौलियालाई पक्राउ गरेको हो ।

सवारी साधनसम्बन्धी कामका लागि यातायात कार्यालय पुग्दा सेवाग्राहीहरु बिचौलियाका कारण ठगिने गरेको, केही बिचौलियाले सेवाग्राहीको लाखौँ रुपैयाँ रकम लिएर फरार रहेको, सेवाग्राहीबाट रकम लिने र कार्यालयमा दाखिला नगर्ने लगायतका समस्याहरु उजागर भएपछि प्रहरीले उनीहरु पक्राउ गरेको हो ।

प्रहरीका अनुसार दुईजना महिलासहित नौजनालाई नियन्त्रणमा लिइएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





