बिर्तामोड, बैशाख २४ । झापाको बिर्तामोडमा बिजुलीको पोलमा चढेर चोरी गर्न खोज्दा झड्का लागेर एक व्यक्ति गम्भीर घाइते भएका छन् ।
घाइतेको अवस्था गम्भीर छ भने उनको नाम, थर र वतन नखुलेको प्रहरीले जनाएको छ । उनी आज बिहान अन्दाजी १ः३० बजे बिर्तामोड-२ रामचोकमा ट्रान्समिटरसहितको बिजुलीको पोलमुनि भुइँमा घाइते अवस्थामा भेटिएका थिए ।
अन्दाजी २५ वर्षका उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको गस्ती टोलीले उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल बिर्तामोडमा भर्ना गरेको छ ।
उनको निधार र आँखाको डिलमा चोट लागेको छ भने शरीरको अन्य विभिन्न भाग जलेको छ । उनको अवस्था गम्भीर रहेको जनाइएको छ ।
उनको साथमा तार काट्ने ह्याक्स ब्लेड, रेन्चहरु, प्लास्टिकको बोरा र डोरी फेला परेको प्रहरीले जनाएको छ । उनको परिचयको खोजी भइरहेको छ ।