२०८२ बैशाख २५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटीलाई थुनामुक्त गर्न उच्च अदालतको आदेश


बिर्तामोड, बैशाख २५ । बिर्तामोडका पूर्वनगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई धरौटीमा छोड्न उच्च अदालतले आदेश दिएको छ । घरेलु कामका लागि राखिएकी बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा उनी पुर्पक्षका लागि थुनामा थिए ।

न्यायाधीश किरणकुमार पोखरेल र रेखा पाण्डे थापाको संयुक्त इजलासले सो आदेश दिएको हो । झापा जिल्ला अदालतले कारागार चलान गरे पनि उनी उपचारको नाममा पाँच महिनायता बिएन्डसी अस्पतालको क्याबिनमा रहँदै आएका छन् ।

उच्च अदालत विराटनगर इलाम इजलासले आज २० लाख रुपैयाँ धरौटी लिएर शिवाकोटीलाई छोड्न आदेश दिएको हो । उच्च अदालतको सो आदेशपछि शिवाकोटी आइतबार थुनामुक्त हुने भएका छन् ।

आज कागजपत्र मिलाउन समय नपुगेको, भोलि कानुन दिवस र पर्सि शनिबारको विदा परेकाले आइतबार थुनामुक्त हुने शिवाकोटीका तर्फबाट वकालत गर्दै आएका कानुन व्यवसायी अशोक पोखरेलले बताए ।

यसअघि गत पुस २२ गते झापा जिल्ला अदालतले शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । २०८१ मंसिर २४ गते पक्राउ परेदेखि नै शिवाकोटी अस्पतालमा बस्दै आएका थिए ।

जिल्ला अदालतले उनको स्वास्थ्य अवस्था ख्याल गर्न आदेश दिएपछि उनी एक दिन पनि कारागार गएनन् । जिल्ला अदालतको आदेशविरुद्ध शिवाकोटीले पुस अन्तिममा बाहिरै बसेर मुद्दा लड्न पाउनेगरी उच्चमा ७३ नम्बर निवेदन दिएका थिए ।

पीडितको आपत्ति

उच्च अदालतको सो आदेशप्रति पीडित बालिकाको परिवारले आपत्ति जनाएका छन् । उनीहरुले बलात्कारजस्तो जघन्य अपराधका अपराधीलाई न्यायालयले उन्मुक्ति दिनु उचित नभएको बताउँदै त्यस आदेशविरुद्ध माथिल्लो निकायमा जाने प्रतिक्रिया दिएका छन् ।

पूर्वी सीमा नाका काँकरभिट्टाबाट उद्धार गरिएकी १५ वर्षीया बालिकाको बयानका आधारमा प्रहरीले शिवाकोटीलाई गत मंसिर २४ गते पक्राउ गरेको थियो ।

सीमामा रहेर चेलिबेटी बेचबिखनविरुद्ध काम गरिरहेको संस्था आफन्त नेपालले शंकास्पद लागेर बालिकालाई सोधपुछ गरेको थियो । त्यसक्रममा उनले आफू शिवाकोटीको घरमा बस्ने गरेको तर पटकपटक करणी गरेपछि भागेर हिँडेको बताएकी थिइन् ।

कलेज ड्रेसमै रहेकी उनले शिवाकोटीबारे बताएपछि संस्थाले इलाका प्रहरी कार्यालय धुलाबारी लगेको थियो । त्यहाँ महिला प्रहरीसँग पनि उनले त्यहीअनुसारको बयान दिएपछि इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोड ल्याइएको थियो ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा बिर्तामोड नगरपालिकाको प्रमुखमा निर्वाचित शिवाकोटीले बुबाआमा नभएकी पीडित बालिकालाई घरको काम गरिदिने र पढाइदिने सर्तमा घरेलु कामदारका रूपमा राखेका थिए ।

घरमा रहेका बेला आफूलाई करणी गरेको पीडितको प्रारम्भिक बयान थियो । त्यसपछि इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोडले उनलाई पक्राउ गरेको थियो ।

Adv footer