२०८२ बैशाख २६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

शिवाकोटीलाई धरौटीमा छोड्ने अदालतका तीन तर्क !


बिर्तामोड, बैशाख २६ । जिल्ला अदालत झापाले पुर्पक्षका लागि कारागार पठाउने आदेशलाई उल्ट्याउँदै उच्च अदालत विराटनगरको इलाम इजलासले बिर्तामोडका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई धरौटीमा छोड्ने आदेश दिएको छ ।

जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाए पनि अस्वस्थताको कारण देखाउँदै पाँच महिनादेखि बिर्तामोडको बिएन्डसी अस्पतालमा बसिरहेका उनलाई न्यायाधीशद्वय किरणकुमार पोखरेल र रेखा थापा पाण्डेको इजलासले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

तीन कारणले धरौटी

जिल्लाको आदेशलाई उल्ट्याउन उच्चले तीनवटा कारण देखाएको छ । पहिलोः हजुर आमासँगको संवाद । दोस्रोः शिवाकोटीको कारण आफ्नो भविष्य उज्ज्वल रहेको भन्ने पीडितले नगरपालिकामा दिएको निवेदन । तेस्रोः सँगै सुत्ने साथीलाई बलात्कार भएको नभनेको ।

यी तीन विषय मुख्य प्रमाणको अदालतले रूपमा लिएको छ । पीडित बालिकाको हजुरआमाले आफ्नी नातिनीमाथि जबरजस्ती करणी भएको जाहेरी दिएकी थिइन् । शिवाकोटीले तीन वर्षदेखि नातिनीलाई जबरजस्ती करणी गरेको जिकिर निवेदनमा उल्लेख थियो ।

बालिका हजुरआमासँग नियमित सम्पर्कमा रहे पनि तीन वर्षपछि जाहेरी दिएकाले शिवाकोटीलाई धरौटीमा छोड्न मिल्ने आदेशमा उल्लेख छ ।

‘..यी पीडितको हजुरआमासँग पटकपटक फोनमा सम्पर्क भएको र भेट्न समेत आउने गरेको भनी पीडितले मौका कागज रहेकोमा सो तथ्य (बलात्कारको विषय) हजुरआमालाई भनेको भनी निजको कागजबाट खुल्न आएको पाइँदैन’ आदेशमा भनिएको छ ।

त्यस्तै, उच्चको आदेशमा पीडित भनिएकी १५ वर्षीय बालिकाले यसबारे पहिले कहिल्यै नभनेको तर आफन्त नेपाल नामक संस्थाको सम्पर्कमा आएपछि मात्रै भन्न थालेको भन्दै घटना माथि सन्देह व्यक्त गरेको छ ।

‘यी पीडित आफन्त नेपाल नामक संस्थाको सम्पर्कमा आएपछि मात्र मिति २०८१ मंसिर १५ को जबरजस्ती करणीको वारदात देखाई मिति २०८१ मंसिर २४ मा जाहेरी परेको देखिन्छ’ उच्चको आदेशमा भनिएको छ ।

बलात्कारको घटना भएको भोलिपल्ट अर्थात् २०८१ मंसिर १६ मा बिर्तामोड नगरपालिका पीडित बालिकाले “प्रतिवादीकै कारण भविष्य उज्ज्वल भएको” भनी निवेदन दिएको उल्लेख गरेको छ । तर, नगरपालिकामा त्यस्तो निवेदन कुन प्रसङ्गमा दिएको भन्ने विषय भने आदेशमा उल्लेख गरिएको छैन ।

पीडितले आफूसँग सुत्ने साथीहरूलाई ‘बलात्कार’ को घटना नभनेको भन्दै घटनामाथि पीडित बालिकामाथि सन्देह व्यक्त गरेको छ । सँगै सुत्ने साथीहरूको विषय नाम समेत उल्लेख गर्दै उच्चको आदेशमा भनिएको छ, ‘विगत तीन वर्षदेखि प्रतिवादीले जबरजस्ती करणी भएको भनिएकोमा प्रतिवादीकै घरमा बसी पीडितसँगै एउटै कोठामा सुत्ने आफ्नो साथीहरूलाई … र …लाई सो तथ्य कहिले पनि खुलाएको देखिन आउँदैन ।’

अनेक प्रसङ्गपछि अदालतले शिवाकोटीलाई धरौटी खुलाउने अन्तिम आधार स्वास्थ्य परीक्षणलाई देखाएको छ । लामो समयदेखि बलात्कारको शिकार भएको बताएकी बालिकाको स्वास्थ्य परीक्षण रायमा ‘हिस्ट्री एन्ड एक्जामिनेसन डज नट एड्ज्याक्टली म्याच’ भन्ने उल्लेख भएको जनाएको छ ।

सम्बन्धित समाचार:

Adv footer