
बिर्तामोड जेठ १३ । झापा प्रहरीले मोटरसाइकल र अटोरिक्सा चोरीमा संलग्न थप चारजनालाई पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडले यसअघि चारजनाको गिरोह पक्राउ परेपछि थप चारजनालाई पक्राउ गरेको हो ।

पछिल्लो समय पक्राउ पर्नेहरूमा बिर्तामोड ३ बस्ने २८ वर्षीय बलराम साह, मेचीनगर १४ दुवागढी बस्ने ४० वर्षीय फूल मोहमद र झापा ५ बस्ने २६ वर्षीय अरमान अली रहेका छन् ।

जेठ ८ गते साँझ प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी सहायक निरीक्षक पदम विस्टको टोलीले बिर्तामोड ३ दरबारचोकमा मे. ७ प २४०८ नम्बरको मोटरसाइकललाई शंका लागेर जाँच गर्दा उक्त नम्बरको मोटरसाइकलको कागजपत्र नभएकोले मोटरसाइकल चालक साहलाई नियन्त्रणमा लिएको थियो । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

गत माघ १७ गते दिउँसो ३ः३० बजे बिर्तामोडको कनकाई अस्पतालअगाडिबाट बिर्तामोड १० बस्ने विकास सिटौलाको होन्डा कम्पनीको सो मोटरसाइकल पार्किङ गरेको ठाउँबाट चोरी भएको थियो । पक्राउ परेका साहले उक्त मोटरसाइकल फूल मोहमदले दिएको बताएका थिए ।

फूल मोहमदलाई पक्राउ गरी सोधपुछ गर्दा उक्त मोटरसाइकल अरमान अलीले दिएको बताएपछि मोहमद र अली दुवैलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी विजय श्रेष्ठले बताए ।
त्यस्तै, चोरीको अटोरिक्सासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ ५ गते साँझ ७ः५० बजे बिर्तामोड ४ मैनाली गेटमा कचनकवल ४ घर भई हाल बिर्तामोड ४ मा डेरा गरी बस्ने ३४ वर्षीय दिलिप माझी मे. १ ह ६७५३ नम्बरको निलो रङको अटोसहित पक्राउ परेका हुन् ।
उनले चार महिनाअगाडि बिर्तामोड ३ बस्ने २८ वर्षीय रञ्जीत राजवंशीसँग कागजपत्रबिनाको सो अटोरिक्सा खरिद गरी चलाइरहेका थिए ।
यसअघि रञ्जीत राजवंशी, उनका दुई भाइहरू बिर्तामोड–३ सैनिकमोड बस्ने २६ वर्षीय प्रदिप राजवंशी, २० वर्षीय कुमार राजवंशी र बिर्तामोड ७ मियाबारी बस्ने २७ वर्षीय जाहगिर आलमसहित पक्राउ परेका थिए । चोरीको तीनवटा मोटरसाइकल र एउटा अटोरिक्सासहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।