२०८३ जेठ १३ बुधबार
Jhapa Today
Adv top

इस्ट होराइजनमा दीक्षान्त समारोह


बिर्तामोड, जेठ १३ । झापा धुलाबारीको इस्ट होराइजन अंग्रेजी माविमा दीक्षान्त समारोह सम्पन्न भएको छ । विद्यालय परिसरमा एक भव्य कार्यक्रमका बीच विद्यार्थीहरुलाई दीक्षित गरिएको हो ।

नेतृत्व र जिम्मेवारीको उत्सव भन्ने नाराका साथ भएको समारोहमा नवनियुक्त विद्यार्थी नेताहरूलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको थियो । कार्यक्रम विद्यालय ब्यान्डको आकर्षक धुनसँगै सुरु भएको थियो ।

नवनियुक्त विद्यार्थी नेताहरूले शिक्षकहरूको साथमा सम्मानपूर्वक मार्चपास गर्दै विद्यालयका निर्देशक तथा प्रिन्सिपललाई अनुसरण गरेका थिए । त्यसपछि विद्यालयको झन्डारोहण सम्पन्न भएको थियो भने विद्यालय गीत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा स्कुल हेड ब्वाइमा सम्यक ओली र स्कुल हेड गर्लमा सिनर्जी तामाङलाई औपचारिक रूपमा ब्याज, टाइ, स्यास तथा गाउन प्रदान गरिएको थियो । त्यस्तै, डेपुटी हेड ब्वाइमा आसिम कार्की र डेपुटी हेड गर्लमा येसिका गोयल नियुक्त भएका छन् ।

चारवटै हाउसका कप्तानहरूलाई समेत पद तथा जिम्मेवारी प्रदान गरिएको थियो । मेची हाउसबाट मौरिस राई र उनिसा न्यौपाने, कोशी हाउसबाट अञ्जली शाह र उचित बानियाँ, गण्डकी हाउसबाट विकल्प प्रसाईं र सृष्टि कार्की तथा महाकाली हाउसबाट संकेत पोखरेल र स्तुति थापा मगरलाई हाउस क्याप्टेनको जिम्मेवारी प्रदान गरिएको थियो ।

विद्यालय प्रिफेक्टहरूलाई पनि औपचारिक रूपमा नियुक्त गरिएको थियो । कार्यक्रममा नवनियुक्त विद्यार्थी नेताहरूले विद्यालय, शिक्षक तथा विद्यार्थीप्रति इमानदारी, अनुशासन र समर्पणका साथ जिम्मेवारी निर्वाह गर्ने शपथ लिएका थिए ।

कार्यक्रमलाई विद्यार्थी अर्नभ कार्की, वृत्ति सापकोटा तथा शिक्षक विकास ग्वालले संयुक्त रूपमा सञ्चालन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल सञ्जीव राईले नेतृत्व भनेको केवल पद नभई सेवा, अनुशासन र प्रेरणाको माध्यम भएको बताउँदै विद्यार्थीहरूलाई जिम्मेवार नेतृत्व प्रदर्शन गर्न प्रेरित गरेका थिए ।

Adv footer