
बिर्तामोड, बैशाख ३ । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले मौसममा फेरबदल ल्याएको छ । झापामा अहिले बिहान बादल लागेको छ भने चिसो हावा चलिरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका हिमाली क्षेत्रमा साधारणतया बदली छ भने पहाडी भेगमा आंशिक बादल लागेको छ । तराईका जिल्लाहरूमा भने मौसम मुख्यतया सफा रहेको देखिएको छ ।

कोशी प्रदेशका पहाडी इलाकाका सीमित ठाउँमा अहिले हल्का वर्षा र हिमपात भइरहेको छ । तराईका अधिकांश भेगमा मौसम धुम्म बनेको छ ।

महाशाखाले कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरेको छ । त्यस्तै, बागमती र गण्डकी प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा पनि हल्का हिमपातको सम्भावना छ ।
तराईमा मौसम स्थिर रहे पनि पहाडी र हिमाली भेगमा भने केही समय बदली र हल्का वर्षाको क्रम जारी रहने देखिन्छ ।




