
बिर्तामोड, बैशाख ७ । झापा ११ ले विराटनगरमा सम्पन्न ३८ औं ‘नोबेल विराट गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सहिद रंगशालामा आइतबार राति भएको फाइनलमा घरेलु टोली सम्राट स्पोर्टिङ क्लबलाई २-१ ले पराजित गर्दै झापाले दोस्रो पटक उपाधि जितेको हो ।
उपाधिसँगै झापाले ११ लाख र सम्राट स्पोर्टिङले ५ लाख रुपैयाँ प्राप्त गर्यो । यसअघि २०७१ सालमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै झापाले पहिलोपटक विराटनगर गोल्डकप जितेको थियो ।

झापाको जितमा राजेश दाहाल र दिवस उराउले गोल गरे । सम्राटका सौरभ तामाङले गोल फर्काए ।
प्रतिस्पर्धात्मक फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो ।

खेलको ८१ औं मिनेटमा झापाका राजेश दाहालले गोल गर्दै टोलीलाई अग्रता दिलाए । गोलरक्षक विशाल सुनारले प्रहार गरेको लामो पासलाई नियन्त्रणमा लिँदै राजेशले गोलमा परिणत गरे ।
झापाले अग्रता लिएको ६ मिनेट बित्न नपाउँदै दिवसले गोल गर्दै अन्तर दोब्बर पारे । उनले फागुराम थारुको पासमा गोल गरेका हुन् । इन्जुरी समयमा सम्राटका सौरभले गोल गर्दै अन्तर घटाए। तर टोलीको हार टरेन ।
पहिलो हाफमा दुवै टोलीले गोल गर्ने अवसर गुमाए। खेलको १६ औं मिनेटमा सम्राटका सुरजले पेनाल्टी बक्सबाट गरेको प्रहार झापाका गोलरक्षक विशाल सुनारले बचाए । त्यसलगत्तै झापाका सुलमान किङको प्रहार पोस्ट बाहिरियो ।
दोस्रो हाफमा भने झापा थप आक्रामक देखियो । ४७ औं मिनेटमा राजेश दाहाल र ५५ औं मिनेटमा मौसम सुब्बाको प्रहार बाहिरियो । झापाका राजेश दाहाल फाइनल खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले११ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको विधागत पुरस्कारमा पनि झापाकै वर्चस्व रह्यो । झापाका फागुराम थारू ‘हाइ स्कोरर’ (सर्वाधिक गोलकर्ता) बने । उनले प्रतियोगितामा ३ गोल गरेका थिए ।
सम्राट स्पोर्टिङका अशोक खवास प्रतियोगिताको ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भए । उनले ५१ हजार रुपैयाँ पाए । यस्तै, झापाका विशाल सुनार उत्कृष्ट गोलरक्षक र सन्तोष बस्नेत उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरूले जनही १५ हजार रुपैयाँ पुरस्कार पाए ।
विजेता तथा उपविजेता टोलीलाई कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्ट, कोशी प्रदेशको वन, पर्यटन तथा बातवरण मन्त्री भिम पराजलुली, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र विराट गोल्डकप फुटबल ट्रस्टका अध्यक्ष किशोरबहादुर शाहीले पुरस्कार वितरण गरेका थिए । चैत २८ गतेदेखि सुरु भएको प्रतियोगितामा भारतसहित ८ टोलीको सहभागिता थियो ।






